समाचार

९ दिनको फरकमा तीन व्यवसायीको हत्या


काठमाडौँ — ललितपुर र मोरङमा तीन व्यवसायीको हत्या ९ दिनको फरकमा भएको खुलेको छ । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार सबैभन्दा पहिले ललितपुरमा मोहन लिम्बुको हत्या भएको खुलेको हो ।

ललितपुरको गोदावरी नगरपालिका १२ धापाखेल बसपार्क नजिकै मंसिर २८ गते लिम्बुको हत्या भएको हो। तेह्रथुम घर भएका लिम्बुको हत्या भएको ७ दिनपछि सोही समूहका दुई जनाको पनि हत्या भएको खुलेको छ ।

मोरङको उखुबारीमा ३० मिटरको फरकमा गाडिएको अवस्थामा भेटिएका दुई जनाको पनि फरक फरक समयमा हत्या भएको पाइएको छ । ‘हामीले पक्राउ गरेका व्यक्तिले पुस ५ गते सुनसरीको धरानका राजेन्द्रकुमार श्रेष्ठको हत्या गरेको र पुस ७ गते सप्तरीका शम्भु चौधरीको हत्या गरेको खुलेको हो। मृतक तीनै जना व्यवसायी हुन् ।

उनीहरु एउटै समूहमा घरजग्गाको कारोबार गर्थे। उनीहरुको हत्या आफ्नै समूहका व्यक्तिबाट भएको खुलेको छ । हत्या अभियोगमा पक्राउ परेका सिरहाका अनिलकुमार मण्डल पनि उनीहरुकै समूहका व्यवसायी हुन् ।

उनले नै हत्याको योजना बनाएको खुलेको छ। हत्याको अभियोगमा उनीसहित तीन जना पक्राउ परेका छन्। मण्डललाई अपराध महाशाखाले काठमाडौंबाट र अरु २ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको हो । मोरङ प्रहरीले पक्राउ गरेका २ जनाले मण्डलकै योजनामा हत्या गरेको बताएका थिए। तीन दिनअघि नै मण्डललाई पक्राउ गरे पनि उनले हत्यामा संलग्नता स्वीकार गरेका थिएनन् ।

बिहीबार बिहान उनलाई पनि मोरङ पठाइएको थियो। तीनै जनालाई एकै ठाउँमा राखेर अनुसन्धान गर्दा घटनाको थप रहस्य खुलेको हो । मण्डलले बिहीबार साँझ हत्या गरेको स्वीकार गर्दै शव रहेको स्थान समेत बताइदिएका थिए। अहिले प्रहरीले लिम्बुको शव उत्खनन् गरिरहेको छ । चौधरी र श्रेष्ठको शव भने माघ १३ गते उखुबारीमा फेला परेको थियो। अनुसन्धानका क्रममा लिम्बु समेत बेपत्ता भएको खुलेको थियो ।