कोरोना विशेष

औचित्यहिन् जोर-विजोर अझै कहिलेसम्म ? (भिडियोसहित)


काठमाडौँ — कोरोना संक्रमण नफैलियोस भनेर अपनाएको सवारी साधनको जोरविजोर मापदण्ड अझै कायम छ । चौतर्फी विरोधपछि सार्वजनिक सवारीमा खुला गरिए पनि ट्याक्सी र निजी सवारीमा अहिले पनि जोरविजोर प्रणाली लागू छ । तर सर्वसाधारणहरु भने ट्याक्सी र निजीमा मात्र जोर–बिजोर प्रणाली लागु गरेको भन्दै आक्रोशित बनेका छन् ।

कोरोना संक्रमणको तेस्रो लहरले आक्रान्त बनाएसँगै सरकारले गत माघ ७ गतेबाट सवै सवारी साधानमा जोर विजोर लागु गरेको थियो । जोर विजोर लागु गरेको भन्दै चर्को विरोधपछि सरकारले गत शुक्रबारबाट सार्वजनिक सवारीमा भने जोर–विजोर प्रणाली हटायो । तर, ट्याक्सी र निजी सवारीमा जोरविजोर नम्बरका आधारमा यातायातका साधन चल्ने बन्देज सरकारले हटाएको छैन । शक्तिमा रहेका र भनसुन गरी छुट्न सक्नेहरुका लागि त्यही जोरविजोर पनि लागु भएको छैन । सोझासिधाका दुई पाँग्रे सवारीका लागि मात्रै जोर विजोरमा कडाई छ । त्यस कारण जोरविजोरको सानो त्यान्द्रो सडकमा देखाइरहन आयश्यक नरहेको कतिपय बताउछन् ।

सरकार जिम्मेवारीबाट पन्छीने अनि सर्वसाधरणमा समेत कोरोनाको डर हराउँदै जानु, लापर्वाही बढ्दै जानुले काठमाडौँका विभिन्न स्थलहरुमा पहिलेजस्तै भीडभाड देखिन्छ । त्यसैले जोरविजोर औचित्यहिन् रहेको चालकहरुको अनुभव छ । उनीहरुले ट्याक्सी र निजी सवारीमा जोर विजोर लागु गरेर मात्र कोरोना नियन्त्रण नहुने बताउछन् । नियम लागु गर्दा सबैमा समान हुनुपर्ने उनीहरुको तर्क छ ।

यता काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले भने सवारी साधन जोर–बिजोर प्रणाली लागू गर्नुको कारण भीडभाड कम गर्नु नै रहेको बताउछन् । भीडभाडले संक्रमण दर बढाउँछ, त्यो निश्चीत हो, तर प्रभावहिन जोरविजोर प्रणालीले सर्वसाधरणलाई सास्ती मात्रै दिएको देखिन्छ । यसअघि सम्पूर्ण सवारीमा जोरविजोर लागू गर्दा गुडेका साधनमा यात्रुको चाप बढेकोले सरकारको चौतर्फी विरोध भएको थियो । अहिले नीजि साधनमा मात्र जोरविजोर लागू गर्दा प्रभावकारी अनुगमन नभएकोे र भिड नियन्त्रमा कमी नआएको भन्दै सरकारको आलोचना भैरहेको छ ।