समाचार

यो वर्ष पनि देखिएन सोनाम ल्होसारको रौनक (भिडियोसहित)

किन मनाइन्छ सोनाम ल्होसार ?


काठमाडौँ — तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष आज मनाएका छन् । यो वर्ष कोरोनाका कारण विगतको जस्तो औपचारिक रुपमा मनाउन नपाए पनि सामान्य रुपमा ल्होछार मनाइएको छ ।

मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष सुरु भएको छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश हुन्छ । मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले यसलाई प्रकृतिपूजक मानिन्छ ।

तामाङहरुलाई प्रकृतिप्रेमी समूदायका रुपमा चिनिन्छ । विशेषगरी नेपालमा तामाङ जातिले सोनाम ल्होसारका अवसरमा कूलपूजा र प्रकृतिको पूजा गर्ने गर्दछन् । यस समूदायमा आज छोरीचेलीलाई बोलाएर टिका लगाइदिने गरिन्छ । सुँगुर, हाँस, कुखुरा, खसि लगायतका विभिन्न परिकारका मासुहरु तैयार पारीने यस विशेष उत्सवमा विभिन्न गुलिया मिठाईहरु बनाएर आजको दिन घरघरमा भोज गर्ने अनि आफन्त भेट्ने चलन रहेको छ । विगत वर्षमा बौद्ध क्षेत्रमा सोनाम ल्होछारका अवसरमा बाजागाजा र सांस्कृतिक झाँकीसहितको ¥याली निकालिने गरिएको थियो । तर, यो वर्ष त्यसरी मनाउन नपाए पनि सुरक्षा सतर्कता अवनाएर ल्होछार मनाएको कतिपय बताउछन् ।

विगतमा आजको दिन टुँडिखेलमा यो पर्व मनाउने गरिन्थ्यो । तर, यो वर्ष कोरोना भाइरसका कारणले गर्दा विगतमा जस्तो ल्होसार मनाउन नपाए पनि घरमा नै पुजाआजा गरेर मनाएको जानकारहरु बताउछन् ।

तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरुपमा मनाइन्छ । विभिन्न कार्यक्रम लगायत मेलाहरु आयोजना गरिँदै अनि शुभकामनाहरु आदान प्रदान गर्दै तामाङ समूदायले सैयौं वर्ष पुरानो आफ्नो संस्कार अनि पहिचानलाई पुस्तौं पुस्तासम्म हस्तान्तरण गर्दै छन् । लोसार पर्वले तामाङ जातीलाई मात्र नभई समग्र नेपालीमा आनन्दको सञ्चार गराउने गर्दछ ।

आजको दिन बिहानै नुहाइधुवाइ गरी घरघरमा तथा गुम्बाहरुका गएर पूजापाठ गर्ने, नयाँ वस्त्र लगाएर शुभकामना आदानप्रदान गर्ने, मिठा परिकार खाने तथा सामुहिक नाचगान गरेर हर्षोल्लासका साथ मनाउने गरिन्छ । यस्तै आफूभन्दा ठूलाबडासँग टीका ग्रहण गरी आशिर्वाद थाप्ने प्रचलन छ । आजको दिन तरुल, फापरबाट बनेको आलुम र गेङ (रोटी), भटमास र गुन्द्रुक साँधेको, खाप्सी आदि मौलिक खाना खाने प्रचलन छ ।