काठमाडौँ – त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिस्टारको कार्यालयमा तालाबन्दी भएपछि उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटा, रेक्टार प्रा.डा. शिवलाल भुसाल र शिक्षाध्यक्ष प्रा.डा. पेशल दाहालले कहिले बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय त कहिले पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा नियन्त्रण कार्यालय (पाङ्ग्रेघर) मा बसेर काम चलाइरहेका छन् ।
जनकपुरस्थित युथ क्याम्पसमा ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए) कार्यक्रमको सम्बन्धन दिँदा त्रिविका कर्मचारीले घुस मागेको र घुस नदिएपछि त्रिविले सम्बन्धन खारेज गरेको आरोप लगाउँदै नेपाल विद्यार्थी संघ त्रिवि समितिले दुई सातादेखि उपकुलपति, रेक्टर र रजिस्ट्रारको मूल गेटमा तालाबन्दी गरेको छ ।
यसअघि विद्यार्थी संगठनले पनि पुस ६ देखि १९ गतेसम्म तालाबन्दी गरेका थिए । नेविसंघले यही माघ ६ गतेदेखि तालाबन्दी गरेपछि त्रिविको आर्थिक, प्राज्ञिक र प्रशासनिकलगायत सबै काम ठप्प छ । सम्बन्धन दिएको दुई महिनामै सम्बन्धन खारेज गरेपछि विरोधमा उत्रिएका विद्यार्थीले उच्चस्तरीय छानबिन गर्नुपर्ने माग गर्दै तालाबन्दी गरेका हुन् । त्रिवि कार्यकारी परिषद्को बैठकले २०७७ पुस २८ मा दिएको सम्बन्धन २०७७ फागुन २८ मा खारेज गरेको थियो । नेपाल समाचारपत्र दैनिकबाट
प्रतिक्रिया