समाचार

होटल मेची क्राउनको भेगास क्यासिनोमा अबैध रुपमा नेपाली सम्लग्न, नियमनकारी निकाय नै सेटिङ्गमा लागेकोे आशंका


काठमाडौँ — नेपालको सीमावर्ती शहर काँकडभिट्टाबाट मात्रै पाँच किलोमिटरको दुरीमा रहेको पाँच तारे होटल मेची क्राउन प्लाजामा सञ्चालित क्यासिनो भेगासले कानुनबिपरित नेपाली नागरिकलाइ विभिन्न खेल खेलाउने गरेको खुलेको छ ।

झापाका व्यापारिक घरनाका ब्यक्तिहरुलाई क्यासिनो खेलाउने गरेको फुटेज सार्वजनिक भएपछि यो अवैध धन्दा सतहमा आएको हो । कानुनतः अन्तराष्ट्रिय सीमाबाट ५ किलोमिटर दुरीभित्र क्यासिनो सञ्चालन गर्न नपाईने नियम छ । मिलीभगतमा खोलिएको क्यासिनोमा खुलेआम नेपाली नागरिकले प्रवेश पाउँदा झापाका कयौँ व्यापारिक घरनाका मालिक टाट पल्टिने अवस्थामा पुगेका छन् ।

क्यासिनो संचालककै सेटिङमा नेपाली नागरिकलाई दश हजार रुपैयाँ प्रतिव्यक्ति असुल गरी नक्कली भारतीय आधारकार्ड बनाईदिएर क्यासिनोमा प्रवेश गराउने गरिएको छ । त्यसका लागि बिर्तामोडका तेजु वर्देबा खटिदै आएका छन् । त्यस्तै होटलका संचालक तथा क्यासिनो किङ्ग भनेर चिनिएका बलाराम सापकोटा र अन्य होटलका लगानीकर्ताकोे मिलेमतोमा कयौं नेपालीले क्यासिनोमा प्रवेश पाउँने गरेका छन् । क्यासिनोमा झापाका धनाढ्य देखी मध्यम र निम्नवर्गिय परिवारका व्यक्तिहरु सहजै प्रवेश गर्ने र खेल्ने गरेका छन् ।

झापा बिर्तामोडका व्यापारी प्रदीप मित्तल, मदनगोपाल सुब्बा, मनोज शेरावाली लगायतका व्यक्तिहरु दैनिक क्यासिनो छिर्ने र खेल्ने गरेको खेलमै संलग्न एक व्यक्तिले जानकारी दिएका छन् । भारतको एक समूहले क्यासिनो व्यवस्थापनको जिम्मा लिएको भएपनि नेपाल र ंभारत दुबै देशको नागरिकता भएका नेपाली मूलका व्यक्तिहरुको धेरै शेयर रहेको स्रोतको भनाई छ । बिर्तामोडका करण पौडेल नाम गरेका व्यक्तिले नै धुलाबारी, काकडभिट्टा, बिर्तामोड लगायतका नेपाली नागरिकलाई क्यासिनो पुर्याउन सहयोग गर्दै आएका छन् ।

नेपाली नागरिकले क्यासिनो खेलेबापत कुल लगानीको पाँच देखी छ प्रतिशत सम्म रकम क्यासिनो व्यवस्थापनबाट दलालले बुझ्दै आएको खेलमा संलग्नहरुको भनाइ छ । ‘करण त भित्र कोर टिमको मान्छे हो । उसैको व्यवस्थापनमा बिर्तामोडका जुवाडेलाई भेला गरेर क्यासिनो लाने हो’,–स्रोतले भन्यो–,‘जति हार्छन् त्यसको ५/६ प्रतिशत कमिसन पाइन्छ । माडवाडी न अरू सबै व्यापारी छिर्छन् । दैनिक करोड–करोर हार्छन् ।

यस्तै पारा हो भने अब एकडेढ वर्षमा बिर्तामोडका धेरै व्यापारी रोडमा पुग्छन् ।’ क्यासिनो छिर्नेमा झापामा रहेका र भारतको पनि दोहोरो नागरिकता भएका व्यक्तिहरुको संख्या उल्लेख्य रहेको छ । यसरी नेपालीले हारेको पैसा भारतको बिभिन्न स्थानबाट आएका खेलाडीले जितेर लाने गरेका छन् । नेपालीको दैनिक करोडौँ रुपैयाँ रकम भारत बाहिरीरहँदा समेत नियमनकारी निकाय बेखबर जस्तै बनेको छ । यसले नियमनकारी निकायको समेत यो अवैध धन्दासँग सम्बन्ध रहेको अड्कल काट्न सकिन्छ ।

यता, क्यासिनो संचालन नियमावली २०७० को परिच्छेद २ को दफा ६ को उपदफा ङ मा प्रस्तावित क्यासिनो संचालनस्थल अन्तर्राष्ट्रिय सिमाना क्षेत्रबाट पाँच किलोमिटरको दुरी भित्र रहेमा संचालन गर्न नपाउने स्पष्ट व्यवस्था गरेको भएपनि त्यसलाई लत्याउदै ाकडभिट्टाबाट नजिकैको दुरीमा क्यासिनो संचालन गरिदै आएको छ । नियम १८ को दफा १ बमोजिम कुनै नेपाली नागरिकले क्यासिनो खेल्न र क्यासिनो संचालित स्थलभित्र प्रवेश गर्न नपाउने व्यवस्था गरिएको छ । यस्तै नियम १४ मा नियम १८ बिपरित हुनेगरी भएमा क्यासिनोको इजाजतपत्र रद्ध हुने कानुनी व्यवस्था रहेको छ ।

यसैगरी क्यासिनोले संचालन गर्दै आएका भारतीय नम्बर प्लेटका सवारी साधनहरु भन्सार नै नतिरी रातभर झापाका सडकमा गुड्ने गरेको झापा मेचनिगरका एक स्थानीयले जानकारी दिएका छन् । भन्सार श्रोतका अनुसार क्यासिनोका भारतीय सवारीहरुले महिनामा एक दुई दिनको मात्रै भन्सार शुल्क तिर्ने गरेका छन् । प्रचलित कानुनको धज्जि उडाउँदै संचालनरत यो क्यासिनोमा नियमनकारी निकायको ध्यान नपुग्दा नेपाली नागरिकको प्रवेश सहज भएको छ, जसले गर्दा यहाँका नागरिक आर्थिक रुपमा टाट पल्टन समय नलाग्ने सामाजिक अगुवाहरुको बुझाई छ ।