समाचार

इमर्जिङ्ग नेपालले माघ २६ गतेदेखि आईपीओ निष्कासन गर्ने


काठमाडौँ –इमर्जिङ्ग नेपाल लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर रू। १०० अंकित दरका ५ लाख ५५ हजार ६०० कित्ता शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो ।

कुल कित्तामध्य २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरेको छ । यी बाहेक बाँकी ५ लाख १६ हजार ७०८ कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आउने भएको हो । यो आईपीओ फागुन १ गतेसम्म विक्रीमा रहनेछ ।

उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने माघ ११ गतेसम्म विक्री खुला गरिने जानकारी कम्पनीले दिएको छ । यो शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । शेयर खरिदका लागि विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालय तथा मेरो शेयर सफ्टवेयर र एप मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

यो आईपीओलाई इक्रो नेपालले समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्ने इक्रा एनपी आईआर डबल बि प्लस रेटिङ्ग प्रदान गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू। ५० करोड ४० हजार रहेको छ ।