देश

प्रधानमन्त्रीदेखि मन्त्रीहरुले गर्ने अनुगमन फितलो, परिणाम शुन्य (भिडियोसहित)


काठमाडौँ – नीतिगत निर्णय र त्यसको कार्यन्वयन सहित व्यवस्थापकीय सुधारका काम गर्नुपर्ने मन्त्रीहरु अहिले मन्त्रालयमा भन्दा बढी सडकमा भेटिन्छन् । मन्त्री बने लगत्तै आफ्नो मातहतका कार्यालयहरुको अनुगमन तथा निरीक्षण गर्ने पुरानो प्रवृत्ति भए पनि सत्ता गठबन्धनका मन्त्रीहरु बढी प्रचारमुखी देखिएका छन् ।

आजभोली हाम्रा मन्त्रीहरु मन्त्रालयमा भन्दा बढि निरीक्षण तथा अनुगमनका क्रममा विभिन्न स्थलमा भेटिने गर्दछन् । हरेक दिन केन्द्र वा प्रदेशका कुनै न कुनै मन्त्री अनुगमनमा निस्किएकै हुन्छन् । अनुगमन तथा निरीक्षणमा पर्यटन मन्त्री प्रेम आले तुलनात्मक रुपमा बढी माहिर देखिएका छन् । उनी हरेक दिन जसो अनुगमनमा नै व्यस्त छन । आलेसँगै शिक्षामन्त्री देवेन्द्र पौडैल पनि विद्यालय,मेडिकल कलेजदेखि विश्वविद्यालयसम्म चहारीरहेका छन । केन्द्रका मात्र होइन प्रदेशका मन्त्रीहरु पनि निरीक्षणमा जाने गरेका छन ।

शुक्रबार वाग्मती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले हेटौडादेखि धाएर यातायात व्यवस्था कार्यलय गुर्जुधारा काठमाडौको अनुगमन गरे । मन्त्रीहरु मात्र होइन प्रधानमन्त्री भए लगत्तै प्रधानमन्त्री शेर बहादुर देउवा आफैले खोपकेन्द्रको अनुगमन गरेका थिए । तर के अनुगमन गर्दैमा नीतिगत वा व्यवस्थापकीय सुधार हुन्छ त ? नागरिकहरुले सुधारको अनुभूति गर्न पाएका छन त ? अहँ पटक्कै छैन ।

नागरिकको जनजीविकासँग प्रत्यक्ष जोडिएको स्थलहरुको अनुगमन प्रभावहिन प्राय छ । नत प्रधानमन्त्रीको अनुगमनले अस्तव्यस्त खोपकेन्द्रमा सुधार आयो, न त मन्त्रीहरुको अनुगमनले जनजीविकामा कुनै तत्वुइक फरक आयो । मन्त्रीहरु सकरात्मक परिवर्तन भन्दा सस्तो प्रचारका लागि अनुगमनमा व्यस्त बनेको विश्लेषकहरु बताउछन् ।

यता सर्वसाधरणहरु मन्त्रीहरुको अनुगमन शैली आफैमा राम्रो भए पनि परिणाम विहिन हुने गरेको बताउँछन । अनुगमनका लागि अनुगमन भन्दा पनि आम नागरिकले परिवर्तनको महशुस गर्ने गरि परिणाममुखी काममा केन्द्रीत हुनुुपर्ने उनीहरुको जोड छ ।

मन्त्रीको जिम्मेवारी योजनामुखी भएर नीतिगत निर्णय गरी तिनको कार्यान्वयन गराउनु हो । यहि कामका लागि मातहतै पिच्छे अलग अलग कार्यालय समेत छन । कार्यान्वयनको अवस्था बारे खोजी नीति सहित प्रभावकारी कार्यन्वयनमा सक्रियता बढाउन अनुगमन विभाग समेत छ । अधिकांश मन्त्रालयको अनुगमन महाशाखा, शाखा कार्यलयहरु छन ।

तर सरकारका मन्त्री कानुनले तोकेको जिम्मेवारीमा खरो उत्रिनेभन्दा पनि सस्तो प्रचारबाजीका लागि अनुगमन र निरीक्षणको नाममा सस्तो लोकप्रियता कमाउनमै व्यस्त छन । अनुगमन आफैमा राम्रो हो । तर परिणामविहिन अनुगमनको कुनै अर्थ छैन । यसतर्फ सरोकारवालाको ध्यानकर्षण हुन जरुरी छ ।