राजनीति

निर्वाचन हुन्छ भन्नेमा एमालेको आशंका, किन यु-टर्न भयो सत्ता गठबन्धन ? (भिडियोसहित)


काठमाडौँ — ऐन नै संसोधन गरेर स्थानीय तहको चुनाव सार्ने अडानमा रहेका सत्ता गठबन्धनले जेठमै निर्वाचन गर्ने सहमति गरेपछि निर्वाचनको माहोल सुरु भएको छ । यद्यपी कसरी उनीहरु यु टर्न भए वा वैशाखमा हुनुपर्ने चुनाव किन जेठमा पुर्याईयो भन्ने बारे विश्लेषण सुरु भएको छ । यसैलाई कारण देखाँउदै प्रतिपक्षी दल एमालेले समेत निर्वाचनबारे आशंका व्यक्त गरेको छ ।

चौतर्फी दवाव सिर्जना भएपछि सत्ता गठबन्धन स्थानीय तहको निर्वाचन सार्ने आफ्नो प्रपन्चबाट पछि हटेको छ । गठबन्धनमा आबद्ध दलहरू संविधानसँग बाझिएका ऐन संशोधन गर्दै जेठमा स्थानीय तहको निर्वाचन गर्न तयार भएका हुन् । यसअघि सत्ता घटक दलहरुमध्ये नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल संघीय निर्वाचन अघि गर्ने या तिनै तहको निर्वाचन संगै गर्ने अडानमा थिए । तर यहि अडानको विपरित शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा आबद्ध पाँच दलीय गठबन्धन बैठकले संविधानसँग बाझिएका निर्वाचन कानुन संशोधन गर्दै जेठभित्रै स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाएको हो । बैठकले निर्वाचन ऐन २०७३ मा भएको व्यवस्था संविधानसँग बाझिएको भन्दै संशोधन गर्ने निर्णय गरेको छ । अव निर्वाचन आयोगसँगको परामर्शमा निर्वाचनको मिति तोकिने सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताएका छन ।

गठबन्धनको बैठकमा दुई चरणमा निर्वाचन गराउने सहमति भएको वुझिएको छ । यद्यपी सरकारका प्रवक्ता कार्कीले भने निर्वाचन एकै चरणमा वा दुई चरणमा गर्ने भन्ने विषयमा आयोगसँग परामर्श गरेर निर्णय लिने जानकारी दिएका छन । तर निर्वाचन आयोगले भने खर्चमा मितव्ययीता हुने भन्दै एकै चरणमा निर्वाचन गर्न सरकारलाई यसअघि नै सुझाव दिईसकेको छ । यदि त्यसो भए पनि सरकालाई जेठ १५ भित्र निर्वाचन गरिसक्नुपर्ने बाध्यता रहेको छ ।

संविधानअनुसार जेठ १५ मा सरकारले बजेट ल्याउनुपर्छ । निर्वाचनको मिति घोषणा हुँदा र १५ जेठपछि निर्वाचन गर्नेगरी मिति तोक्दा निर्वाचन आचारसंहिताका कारण सरकारले पूर्ण बजेट ल्याउनसमेत निर्वाचन आयोगसँग अनुमति लिनुपर्छ । तर, आयोगले अनुमति दिने नदिने टुंगो हुँदैन । यस्तो हुँदा १५ जेठभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गरेर पूर्ण बजेट ल्याउनेतर्फ सरकारलाई बाध्यता बढेको छ । यसले निर्वाचनको माहोल बनेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि सकारात्मक भनेको छ । यद्यपी ऐन संसोधनको कुरा समेत जोडिएकाले वैशाखमा गर्न पर्ने चुनाव जेठमा गर्दा हुने तर अरु महिना गर्दा किन नहुने भनेर कुतर्क अघि सार्न सक्ने संसय एमालेले व्यक्त गरेको छ ।

प्रधानमनत्री देउवाले गठवन्धनका अन्य दलहरुलाई चुनावसम्मै सहकार्यमा जाने आश्वास दिएको वुझिएको छ । जसमा कांग्रेसकै नेताहरु समेत एकमत छैनन् । तर साना दलहरु गठवन्धनको फेरो छोड्न नहुने नीतिमा अघि बढिरहेका बेला गठवन्धनको अंकगणितमा निर्वाचन स्वार्थ जेलिएको देखिन्छ । गठवन्धनभित्रका दलहरुको निर्वाचन रणनीतिमा अदलबदल भए गठवन्धनको जालो पनि च्यातिने सम्भावना देखिन्छ ।