राजनीति

को हो शहीद, सरकारसंगै छैन अभिलेखीकरण (भिडियोसहित)


काठमाडौँ — नेपाली नागरिकलाई अधिकारसम्पन्न बनाउन विभिन्न कालखण्डमा धेरैले प्राण उत्सर्ग गरेका छन् । तर, देश र जनताको हकअधिकारका आन्दोलनमा सहादत प्राप्त गरेकामध्ये कसलाई सहिद भन्नेमा अझै स्पष्ट मापदण्ड बन्न सकेको छैन ।

प्रत्येक वर्ष सरकारले शहीद भएकाहरुको नाममा दिवस मनाउने गरेको छ । तर प्रत्येक वर्ष शहीदप्रति ओठभक्ति देखाउने बाहेकका काम हुँदैनन् । हरेक चोटी सत्ता परिवर्तन गर्दा जनताका छोराछोरीहरुले सत्तामा पु¥याउन बलिदान दिएका छन् । तर, उनीहरुको सपना अझै पनि पुरा भएको छैन ।

पछिल्लो समय त घटना वा दुर्घटनामा परेकालाई पनि शहीद घोषणा गरिँदा देशका लागि जीवन त्यागेकाहरुकोे अपमान भएको भन्दै आलोचना भइरहेको छ । शहीदको अझै पनि स्पष्ट मापदण्ड छैन । घोषणा गरिएकै शहीदका विषयमा पनि विभिन्न टीकाटिप्पणी हुने गरेका छन् । नेपालमा पहिलो शहीद लखन थापालाई मानिन्छ । त्यसयता सरकारले विसं १९९७ मा प्रजातन्त्रका लागि प्राण आहुति दिने चार सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा दशरथ चन्द र गंगालाल श्रेष्ठलाईविभिन्न कार्यक्रममार्फत प्रत्येक वर्ष सम्झिने गरिएको छ ।

पञ्चायतकालमा प्रजातन्त्र पुनःस्थापनाका लागि भएका आन्दोलनमा पटक–पटक थुप्रै योद्धाले सहादत प्राप्त गरे पनि उनीहरूका बारेमा राज्यले त्यति महत्व दिएको देखिँदैन । बरु राज्यसंग सहिदहरुको यकिन तथ्यांक समेत नहुँदा शहीदप्रति राज्य कति जिम्मेवार छन् छ भन्ने प्रश्न जन्माएको छ । त्यसो त प्रधानमन्त्री शेरबहादुर देउवाले शहीदहरुको यकिन तथ्यांक निकाल्न मातहतलाई निर्देशन दिएका छन् ।

नेपाल १०४ वर्षे अँध्यारो युग र ३० वर्षे पञ्चायत हुँदै संघीय गणतन्त्रमा प्रवेश गरेको पनि धेरै वर्ष भइसकेको छ । राजनीतिक व्यवस्था परिवर्तनका लागि धेरै नागरिकले प्राणउत्सर्ग गरेका छन् । यसैको उपलब्धिस्वरूप राज्यको विभिन्न तहमा पुगेर लाभ लिइरहेकाहरू भने वर्षको एकदिन गोहीको आँसु चुहाएर आफ्नो कर्तव्य पूरा गरेको ठानिरहेका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको नेपाली बृहत् शब्दकोषमा सहिद भन्नाले आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान दिएको व्यक्तिलाई बुझिन्छ । यस्तै नेपाली शब्द सागरले कुनै पनि शुभ परिणामका निम्ति लाग्दालाग्दै प्राण गुमाउने तथा देश, जाति र जनताको सुखको निम्ति संघर्ष गर्दा बलिदान दिएको व्यक्तिलाई शहीद भनिएको छ । तर, अहिले जोसुकैलाई शहीद बनाउदा को अमर शहीद हुन भन्नेबारे प्रश्नचिन्ह खडा भएको छ ।