समाचार

भन्सार छलेर रक्सी ल्याउने गिरोह प्रहरी खोरमा, को हुन् रक्सी लुकाएर बेच्ने ? (भिडियोसहित)


काठमाडौँ — भारतबाट अवैद्य रुपमा मदिरा ल्याएर काठमाडौं उपत्यकामा कारोबार गर्ने ४ जना पक्राउ परेका छन् । भन्सार छलेर ल्याएको रेड लेबल, एब्सोल्युट भोड्का र ब्ल्याक लेबल बेचबिखन गरेको आरोपमा महानगरीय अपराध महाशाखाले काठमाडौंबाट चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेपाली सेनाका पूर्व हवल्दार देखी भारतिय ब्राण्डको कपडा विक्रेता समेत छन् ।

भन्सार छली गरेर मदिरा आयात गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न ब्राण्डका महंगा रक्सीको ठूलो परिणाम पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पर्साको गादी घर भई काठमाडौंको बुढानीलकण्ठ क्षेत्रमा बस्ने चन्द्र बख्रेलसहित आइतबार चार जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।

३९ वर्षीय बख्रेलसहित काठमाडौंको कागेश्वरीमनहरा नगरपालिका–६ का ३० वर्षीय शैलेश पन्त, पर्साको सुवर्णपुर घर भई काठमाडौंको हाँडीगाउँ बस्ने २८ वर्षीय रविन पाख्रीन र सर्लाहीको बरहथवा नगरपालिका–९ घर भई चाबाहिल बस्दै आएका ३८ वर्षीय नारायणप्रसाद घिमिरे रहेका छन् ।

उनीहरुले भारतबाट रेडलेबल, एब्सुलेट भोडका, चिभास रेगल लगायतका मदिरा चोरी पैठारी गरी नेपाल ल्याएर कारोबार गर्ने गरेको सूचनाको आधारमा काठमाडौंको बानेश्वर, कपन, रामकोट लगायतका स्थानबाट २९६ कार्टुन मदिरा बरामद भएको प्रहरीले जनाएको छ ।

बरामद गरिएका मदिराको बजार मूल्य करिब एक करोड पचास लाख बराबर रहेको प्रहरीले जनाएको छ । यी मध्ये कारोबारी चन्द्र बख्रेलले भारतबाट नेपाल भित्राउने र अन्य व्यक्तिहरुले काठमाडौंका विभिन्न पार्टी प्यालेसहरुमा सप्लाइ गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका घिमिरे नेपाली सेनाका पूर्व हवल्दार हुन् भने सन्तोष चन्द्र बाख्रेल दरबारमार्ग स्थित कपडा सोरुम बिईङ ह्युमेनको संचालक रहेको समेत प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । बरामद भएका मदिराको गुणस्तर परीक्षणका लागि अनुसन्धान विभाग हरिहर भवन पठाइएको र बरामत मदिरा सक्कली वा नक्कली भन्ने खुल्ने प्रवक्ता कोइरालालले जानकारी दिए । बरामद गरिएको मदिरा राजस्व अनुसन्धान विभागमा बुझाइने महाशाखाका एसपी कोइरालाले बताए । प्रहरीले मदिराको गुणस्तर परिक्षणका लागी खाद्य तथा गुण नियन्त्रण विभागमा नमुना पठाएको छ ।