समाचार

२८ करोड राजश्व छलीको अभियोग लागेका उमाशंकर जेलमुक्त


काठमाडौँ —राजश्व चुहावटको मुद्दामा थुनामा रहेका बाराका भएका उमाशंकर राय भर २५ हजार रुपैयाँ धरौटी बुझाएर छुटेका छन् ।
राजस्व छली मुद्दामा पाटन उच्च अदालतले तोकेको ७५ लाख रुपैयाँ धरौटी बुझाउन नसकेर बन्दी जीवन बिताउँदै आएका उनी सर्वोच्च अदालतले धरौटी रकम २५ हजारमा झारिदिएपछि रिहा भएका हुन् ।

न्यायाधीश सपना प्रधान मल्ल र विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले ७४ लाख ७५ हजार रुपैयाँ धरौटी घटाएको हो । ब्लुक्रस ट्रेडर्स र जेएन सप्लायर्स प्रालि उमा शंकर राय भरको नाममा दर्ता गरेको पाइएको छ। तर उनको नाममा संस्था दर्ता भएपनि संस्थाको खातापाता लगायत संस्था सञ्चालन गर्ने र प्रयोग गरी सम्पूर्ण लाभ लिने कार्य सरोजकुमार मिश्रले गर्ने गरेको सर्वोच्चको ठहर छ।

रायभरले राजश्व चुहावटमा प्रत्यक्ष हानी नोक्सानी गर्ने कार्यमा संलग्नता रहेको नदेखिएको, उनको आर्थिक अवस्था, पारिवारिक स्थिति हेर्दा पनि त्यो पुष्टि हुने अवस्था नरहेको अदालतको ठहर छ ।

उमा शंकरको नाममा दर्ता भएको संस्थाका सम्पूर्ण कारोबार सुरोज कुमार मिश्रले गरेको ठहर गरेको छ । उमा शंकरले ५ कक्षा मात्रै उत्तिर्ण गरेका छन्। उनको आर्थिक अवस्था समेत सामान्य रहेको छ ।

छिमेकीले बाइक ग्यारेजमा काम लगाइदिन्छु भनेर उनलाई काठमाडौँ ल्याएको खुलेको छ । उनका नागरिकता फोटो लगायतका कागजात लगेको र उनलाई कागजातमा ल्याप्चे लगाउन समेत लगाएर सम्पर्कविहीन भएपछि आफू वीरगन्ज फर्किएको उमाशंकरले बताएका छन् ।