कोरोना विशेष

उच्च पदस्थ व्यक्तिबाटै स्वास्थ्य मापदण्डको ठाडो उल्लंघन, किन हुन्न कारवाही (भिडियोसहित)


काठमाडौँ — कोरोनाका तेस्रो लहरका कारण मुलुक अझै पनि महामारीको उच्च जोखिममा छ । संक्रमण नियन्त्रणमा सरकारले स्वास्थ्य मापदण्ड सहित विभिन्न नियम कानुनहरु तर्जुमा गरेको छ । तर जारी नियम कानुनको भने इमान्दारितापूर्वक पालना भएको पाइदैन ?

विगत दुई वर्षदेखि जारी कोरोना महामारीको जोखिम अझै उस्तै छ । कोरोनाका विभिन्न भेरियन्टले विश्व त्रसित छ । नेपाल सरकारले कोरोना महामारीको जोखिम बढ्दै गएकोले पूर्ण रुपमा स्वास्थ्य मापदण्डको पालना गर्न अनुरोध गर्दै आईरहेको छ ।

कोरोना संक्रमितको संख्या निरन्तर उकालो चढ्ने क्रममा छ । कोरोनाले मृत्यु हुनेको संख्या पनि बढ्दो क्रममा छ । कोरोनाको हटस्पट बनिरहेको काठमाडौँमै स्वास्थ्य मापदण्ड पालनामा लापरबाही बढेको छ ।

सरकार आफूले जारी गरेको स्वास्थ्य मापदण्ड कत्तिको पालना भएको छ, कोरोना संक्रमित कहाँ र कस्तो अवस्थामा छन् भन्नेबारे समेत वेखबर छ । फलत कोरोना संक्रमण रोकथाम र नियन्त्रण थप चुनौतीपूर्ण बनेको छ । आम सर्वसाधरण मात्र होइन देशका उच्च पदस्थ व्यक्तिहरु नै सरकारले तय गरेको नियम कानुनको ठाडो उल्लघंन गरिरहेका छन् ।

संक्रमण पुष्टि भएको पाँच दिनमै पूर्व प्रधानमन्त्री समेत रहेको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सार्वजनिक कार्यक्रममा उपस्थित भए । संक्रमण पुष्टि भएको सात दिनसम्म आइसोलेशनमा बस्नु पर्ने सरकारी नियम भए पनि ओली उक्त नियमको उल्लघंन गर्दै एमालेको भातृ संगठन युवा संघले भक्तपुरमा गरेको रक्तदान कार्यक्रममा सहभागी जनाए ।

त्यस्तै कोरोना संक्रमण रोक्न सरकारले २५ जनाभन्दा बढी भेला हुन निषेध गरेको छ । तर, मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले हजारौंलाई भेला गराएर छोरीको विवाह भोज गरे ।

जबकि जिल्ला प्रशासन कार्यालय महोत्तरीले माघ २ गते सूचना जारी गर्दै बैठक, सभा समारोहमा रोक लगाएको थियो । सरकारले जारी गरेको नियम कानुनको उल्लघन गरे संक्रामक रोग ऐन २०२० अनुसार कारवाहि गर्ने व्यवस्था पनि छ । तर नेपालको नियम कानुन देखाउने दाँत मात्र बनेको छ ।

कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि नियम माथी नियमको चाँङ थुपारे पनि कार्यन्वयन हुन सकेको छैन । सरकार त बस सर्वसुलभ खोप दिन नसक्ने तर सार्वजनिक स्थलमा खोप कार्ड अनिवार्य गर्ने, सबै क्षेत्र खुला गर्ने अनि यातायातमा जोर विजोर प्रणाली लागु गर्दै नागरिकलाई महामारीमा पनि दु:ख दिन व्यस्त छ । नागरिक पनि जारी नियम कानुनको पालना नगरी कोरोनालाई नजरअन्दाज गरिरहेका छन् । जसको परिणाम संक्रमणदर भयावह भन्दै गएको छ ।