समाचार

प्र्याङ्क भिडियोमा सरकारी बन्देज, होला त कार्यन्वयन ? (भिडियोसहित)


काठमाडौँ — व्यक्तिको अनुमति विना सार्वजनिक स्थलमा बनाईने प्र्याङ्क भिडियोप्रति सरकार कडा रुपमा प्रस्तुत भएको छ ।

गृह मन्त्रालयले प्रेस विज्ञप्ती नै जारी गर्दै अब सार्वजनिक स्थानमा प्र्याङ्क भिडियो खिच्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । यस विषयमा पक्ष र विपक्षीमा बहस छेडिएका छन् ।

सामाजिक सञ्जालमा यत्रतत्र पाइने, मौका मिलेसम्म सबैले हेर्ने यस्ता भिडियोहरुले समाजमा कस्तो सन्देश प्रवाह गला ? प्र्याङ्क भिडियो बनाउनेले भिडियोमा प्रयोग गरिएका पात्रहरुलाई सामाजिक तथा मानसिक रुपमा कस्तो असर गर्छ ? सायदै सोचेका छन् । बस भ्युज र डलरको लोभमा सामाजिक सद्भाव भंग गर्न पनि मानिसहरु पछि पर्दैनन् । मनोरञ्जनका नाममा आम सर्वसाधरण मात्र होइन ठुलो र चर्चित व्यक्तिहरु समेत प्र्याङ्कको शिकार बनेका छन ।

सृजनात्मक हुनु आफैमा सहज छैन । धेरै मेहिनतको खाँचो पर्छ । तर सस्तो मनोरञ्जनका लागि बनाइएका यस्ता भिडियोहरुले समाजलाई के सन्देश दिन्छन् ? यसप्रति सरोकारवालाको कहिल्यै ध्यान पुगेको पाइएन । सायद यहि कुरालाई मध्यनजर गरेरै होला विहिवार गृहमन्त्रालयले प्रेस विज्ञप्ती नै जारी गर्दै सार्वजनिक स्थलमा सम्बन्धित व्यक्तिको अनुमतिविना प्र्यांक भिडियो खिचेर सामाजिक सञ्जालमा राख्न रोक लगाएको छ ।

यस्तो गतिविधि गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयले सार्वजनिक स्थलमा गरिएका भद्दा प्रकृतिका ख्यालठट्टाबाट सिकार भएका व्यक्तिमा मानसिक तनाव उत्पन्न हुन सक्ने जनाएको छ । प्र्याङ्क भिडियो बनाउने क्रममै ठुलो दुर्घटना हुने सक्नेतर्फ सरकारले कानुनी व्यवस्थालाई नै उच्चतम प्राथमिकता दिनुपर्ने कतिपयको सुझाव छ ।

यता पत्रकार महासंघले भने गृह मन्त्रालयको प्रेस विज्ञप्तीको खण्डन गरेको छ । नेपाल पत्रकार महासंघले प्रेस विज्ञप्ती नै जारी गर्दै विज्ञप्तिमा उल्लेख गरिएका कतिपय विषय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रतिकूल प्रयोग हुन सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रविधिको विकासले आम मानिसको दैनिकीमा जति सहजता प्रदान गरेको छ, उत्तिकै दुरुपयोग पनि हुने गरेको छ । त्यसैले पक्ष र विपक्षमा बहस गर्नुभन्दा पनि समाजलाई सकारात्मक बाटोमा डो-याउन सबै उत्तिकै जिम्मेवार हुन आवश्यक छ ।