खेलकुद

क्रिकेट खेलाडीको वर्गीकरण,सोमपाल ‘ए’ मा पर्न सफल


काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन् २०२२ को केन्द्रीय सम्झौता सार्वजनिक गरेको छ । सम्झौतामा क्षमताअनुसार १८ खेलाडीहरुलाई तीन ग्रेडमा विभाजन गरिएको छ ।

सम्झौताअनुसार कप्तान सन्दीप लामिछाने, पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र सिंह ऐरीसहित ५ खेलाडीलाई ग्रेड ‘ए’ मा अनुबन्ध गरेको छ । क्यानको रुपन्द्रेहीमा बसेको बैठकले लामिछाने, मल्ल, ऐरी, सोमपाल कामी र करण केसीलाई ग्रेड ‘ए’ मा अनुबन्ध गर्ने निर्णय गरेको हो ।

त्यस्तै, ग्रेड ‘बी’ मा ६ जना खेलाडीलाई समावेश गरिएको छ । कुशल भुर्तेल, आसिफ सेख, शरद भेषवाकर, आरिफ शेख, अविनाश बोहरा र विनोद भण्डारी बी मा परेका छन् । सात जना खेलाडीलाई ग्रेड ‘सी’ मा राखिएको छ । कुशल मल्ल, रोहित कुमार पौडेल, कमल सिंह ऐरी, विक्रम सोव, साहब आलम, सुशन भारी र पवन सर्राफ सी मा रहेका छन् ।

क्यानको उक्त बैठकले मल्ल, ऐरी, कामी र कमल सिंहलाई सन् २०२२ को केन्द्रीय सम्झौतामा नराख्ने यसअघिको निर्णय फिर्ता लिएको छ । साथै क्यानले आउँदो फागुन १३ र १४ मा धनगढीमा वार्षिक साधारण सभा गर्ने निर्णय पनि गरेको छ ।