समाचार

बजारमा सिटमलको हाहाकार, यी युवाले बाढ्दैछन् निशुल्क सिटामोल


काठमाडौँ — काठमाडौँको विजुलीबजारस्थित औषधि व्यवस्था विभागको अगाडि निशुल्क सिटामोल तथा मास्क वितरण भैरहेको छ ।

बजारमा सिटामोलको अभाव भइरहेको अवस्थामा नेपाली कांग्रेसका नेता एवं औषधि व्यवसायी अबुल हुसेन अन्सारीले सिटामोल अभियान सुरु गरेका हुन् । औषधि व्यवस्था विभागको अघाडि नै किन निशुल्क वितरण गरियो त ?

कोरोनाको नयाँ भेरियन्ट फैलिएको अवस्थामा अत्यावश्यकीय औषधी सिटामोलको अभाव भइरहेको छ । ज्वरो, रुघाखोकी विरामी बढ्दा औषधि पसलमा सर्वसाधारणले सिटामोल नपाएपछि सामाजिक सञ्जालमार्फत सर्वसाधारणले गुनासो पोखिरहेका छन् । सिटामोल अत्यावश्यक औषधिमा सूचीकृत छ ।

सरकारले स्वास्थ्य संस्थामा निःशुल्क वितरण गर्ने औषधिको सूचीमा दोस्रो नम्बरमा छ । तर, उपभोक्ताले केही दिनयता यो औषधि बजारमा पाउन सकेका छैनन् । यहि अभावलाई मध्यनजर गर्दै औषधि व्यवसायी डा अबुल हुसेन अन्सारीले काठमाडौंमा निःशुल्क प्यारासिटामोल वितरण गर्न थालेका हुन् । उनले बुधबार मात्र ५४१ जनालाई आवश्यकअनुसार सिटामोल वितरण गरेका थिए ।

विहीबार पनि ३५० जनालाई निशुल्क सिटामोल वितरण गरिएको छ । यो अभियान प्यारासिटामोल बजारमा सहज नहुँदासम्म वितरण गर्ने कांग्रेसका नेता सम्मेत रहेका हुसेनले बताए । उनले सरकालाई दबाव दिनको लागि पनि औषधि व्यवस्था विभागको अगाडि नै सिटामोल वितरण गरेको बताए ।

चिकित्सकसहितको वितरण टोलीले नागरिकको स्वास्थ्य परीक्षण गरेर तथा घरमा सिटामोल चाहिने बिरामी भएको बताएमा एक पत्ताका दरले सिटामोल दिइने छ ।

यता सर्वसाधारणले महामारीको वेला अत्यावश्यक औषधि नपाउदा दुख लागेको बताउछन् । यसरी सिटामोलको अभाव खेपीरहेका सर्वसाधारण निशुल्क औषधिले राहत दिएको बताउछन् ।

यस्तो महामारीको चपेटामा परेको बेला सरकारले सर्वसाधारणको लागि एउटा सिटामोलको समेत व्यवस्था गर्न नसक्दा आम नागरिक मारमा परेका छन् । यता निशुल्क औषधि वितरण भएपछि औषधि व्यवस्था विभागले कुनै पनि फार्मेसीमा औषधिको अभाव नरहेको दाबी गरेको छ ।

पहिलो र दोस्रो लहरमा अक्सीजन बेड र भेन्टिलेटरको अभावमा धेरै बिरामीले सास्ती भोग्नुपरेको तथा ज्यान नै गुमाउनु परेको थियो । त्यो अवस्था अहिले पनि नदोहोरिएला भन्न सकिदैन् । यसप्रति सरोकारवाला निकायको ध्यान जान जरुरी छ ।