समाचार

सोलुखुम्बुका ज्येष्ठ राजनीतिज्ञ शेर्पाको अन्त्यष्टि

अलविदा सोनाम छिरिङ


काठमाडौँ — सोलुखुम्बुका ज्येष्ठ राजनीतिज्ञ स्वर्गीय सोनाम छिरिङ शेर्पाको बौद्ध परम्परा अनुसार सम्मानका साथ टेकु आर्यघाटमा अन्त्यष्टि गरिएको छ ।
काठमाडौँस्थित टेकु आर्यघाटमा बौद्ध परम्परा अनुसार सम्मानका साथ बिहीवार सोनाम छिरिङ शेर्पाको अन्त्येष्टि गरिएको हो । अन्त्येष्टिका क्रममा विभिन्न दलका नेताले सम्मान अर्पण गरेका छन् । त्यसअघि बौद्धस्थीत शेर्पा सेवा केन्द्रमा राखेर अन्तिमा श्रद्धाञ्जलि अर्पण गरेका थिए ।
लामो समय देखि अस्वस्थ रहेका सोलुखुम्बुका ज्येष्ठ राजनीतिज्ञ शेर्पाको ७१ वर्षको उमेरमा सोमाबार काठमाडौँस्थित निजि निवासमा निधन भएका थियो । तत्कालिन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको राजनैतिक सल्लाहकार समेत रहेका शेर्पा स्वासप्रश्वास सम्बन्धि रोगबाट थलिएका थिए ।
नेपाली काँग्रेसबाट राजनीति सुरु गरेका शेर्पाले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लामो समय राजनीति गरेका थिए । वि.सं. २०५१ को संसदीय निर्वाचनमा सोलुखुम्बुबाट काँग्रेस उम्मेदवार बलबहादुर केसीसँग करिब डेढ सयको मतान्तरले पराजित भएका थिए ।
पटक पटकको निर्वाचनमा उम्मेदवार बनेका शेर्पा संविधान सभाको दोश्रो निर्वाचनमा भने स्वतन्त्र नागरिक अभियानको नामबाट उम्मेदवार बनेर साढे तीन हजार मत प्राप्त गरेका थिए । शेर्पा सेवा केन्द्रका संस्थापक महासचिव, नेपाल शेर्पा संघका सल्लाहकार समेत रहेर शेर्पा समुदायलाई महत्त्वपूर्ण योगदान पुर्‍याउनु भएको थियो ।

सोलुखुम्बु जिल्लाको साविकको तामाखानी गाविसमा जन्मिएका शेर्पा पछिल्लो समय भने नयाँ शक्ति पार्टी, नेपाल कम्युनिष्ट पार्टी हुँदै नेकपा (एकीकृत समाजवादी)मा आबद्ध थिए । सोनाम छिरिङका तीन छोरा र एक छोरी छन् ।