समाचार

सोलुखोला दूधकोशी आयोजनाको सुरुङ मार्गमा १ मजदुर बेपत्ता


काठमाडौँ — जिल्लामा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी जलविद्युत् आयोजनाको सुरुङ मार्गमा दुर्घटना हुँदा एक मदजुर बेपत्ता भएका छन् ।

बिहीबार बिहान थुलुङ दुधकोशी गाउँपालिका-३ पञ्चन क्षेत्रको सुरुङमार्गमा जाने क्रममा बकेट चुँडिदा १ जना मजदुर हराइरहेको र १ जनालाई घाइते अवस्थामा उद्वार गरिएको प्रहरीले जनाएको छ ।

बेपत्ता हुनेमा बारा जिल्ला कोलभी नगरपालिका- १ का २४ वर्षीय राकेश चौधरी रहेको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका पर्सा जिल्ला पटेरवा गाउँपालिका-४ का २० वर्षीय अंगत राय थारूको उद्वार गरी उपचारका लागि एम्बुलेन्समार्फत मिसन अस्पताल ओखलढुंगा पठाइएको छ ।

बिहीबार करिब ४/५ बजेको समयमा सुरुङभित्र पेनस्टक पाइप बिछ्याउन जानेक्रममा सामग्रीसहित चारजना मजदुर चढेको बकेट बीचमा पुगेर चुँडिएको प्रहरीले जनाएको छ । घटनामा परेका अन्य २ जनाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

हराइरहेका चौधरीको खोजी कार्य जारी रहे पनि अन्य निर्माण सामग्रीहरूका कारण समस्या भइरहेको प्रहरीले जनाएको छ। सुरुङमार्गभित्र मानिसका साथै निर्माण सामग्रीहरू ढुवानीका लागि मेसिनद्वारा सञ्चालन हुने बकेट प्रयोग गर्ने गरिएको आयोजनाले जनाएको छ ।