काठमाडौँ – १२ औं राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार दश वर्षमा नेपालमा १०.१८ प्रतिशतले जनसंख्या वृद्धि भएको छ । यो वृद्धिदर ८ दशक यताकै कम हो । तथ्यांक अनुसार हिमाली र पहाडी क्षेत्रमा जनसंख्या क्रमश घटिरहेको छ भने तराई क्षेत्रमा जनसंख्या बढ्दो छ । जनसंख्याको बढ्दो असमान विवरण चिन्ताजनक छ ।
केन्द्रिय तथ्याङ्क विभागले १२ औं राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा बुधबार सार्वजनिक गरेको छ । वि.सं २०६८ यता १० वर्षको अवधिमा नेपालमा २६ लाख ९७ हजार ९ सय ७६ जनसंख्या थप भएको छ । १० वर्षमा १०.१८ प्रतिशतले जनसंख्या वृद्धि भएको केन्द्रिय तथ्याङ्क विभागले जनाएको छ ।
विदेशमा रहेका २१ लाख ६९ हजार ४ सय ७८ जना बाहेक अब नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । जसमा १४ लाख ४२ हजार २ सय ७० पुरुष र १२ लाख ५५ हजार ७ सय ६ महिला थपिएका छन् । यो अवधिमा महिलाको जनसंख्या भन्दा पुरुषको जनसंख्यमा वृद्धि भएको छ । तथापी कुल जनसंख्यामा भने पुरुष भन्दा महिलाको जनसंख्या ६ लाख ९ हजार ८ सय ५८ बढि छ ।
देशको कुल जनसंख्याको प्रारम्भिक नतिजा सार्वजनिक हुँदै गर्दा वार्षिक जनसंख्या वृद्धिदर, हिमाली र पहाडी क्षेत्रको घट्दो र तराई क्षेत्रको बढ्दो देखिएको छ । २०६८ को जनगणनामा १.३५ प्रतिशत रहेको वार्षिक जनसंख्या वृद्धिदर २०७८ मा ०.९३ प्रतिशतमा झरेका छ । जुन विगत ८ दशक यताकै कम वृद्धिदर हो । हिमाली क्षेत्रमा वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक (—०.०२%) रहेको छ । नेपालमा भौगोलिक क्षेत्रअनुसार जनसंख्याको वितरण कुल जनसंख्यामध्ये हिमाल र पहाडको हिस्सा क्रमशः घट्दै गईरहेको छ ।
हिमाली क्षेत्रमा कुल जनसंख्याको ६.७३% रहेकोमा २०७८ मा ६.०९% मा झरेका छ भने पहाडी क्षेत्रमा २०६८ मा ४३.०१% रहेकोमा हाल ४०.२५% मा झरेको छ । २०६८ सालको जनगणनामा तराईमा कुल जनसंख्याको ५०.२७% हिस्सा रहेकोमा २०७८ मा वृद्धि भई ५३.६६% पुगेको छ । नेपालको जनघनत्व १८० बाट १९८ जना प्रतिवर्ग कि.मि. पुगेको छ । सबैभन्दा धेरै तराई क्षेत्रमा ४६१ जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्ग किलोमिटर रहेको छ ।
तथ्याङ्क विभागका अनुसार सबैभन्दा धेरै जनसंख्या भएको जिल्ला काठमाडौ रहेको छ । काठमाडौमा २० लाख १७ हजार जनसंख्या रहेको छ भने सबैभन्दा कम मनाङमा ५ हजार ६ सय ४५ जना रहेका छन् । स्थानीय तह अन्तर्गत मनाङको नार्पाभूमि गाउँपालिकामा सबैभन्दा कम ४ सय ४२ जना रहेको छ । सरकारले कालापानी लिपुलेक क्षेत्रमा ६ सय जनसंख्या रहेको उल्लेख छ ।
प्रतिक्रिया