कोरोना विशेष

कोरोना संक्रमित बढ्दो, सरकारको छैन अनुगमन


काठमाडौँ — कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनले यति बेला नेपालमा दिनप्रति संक्रमणदर बढ्दैछ । तर, कोरोनालाई नियन्त्रण गर्ने प्रभावकारी योजना र तयारी सरकारसँग छैन । जसकारण सक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले चालेका कदम र तिनको प्रभावकारिताबारे पनि प्रश्न उठ्न थालेको छ ।

पछिल्लो समय कोरोनाको नयाँ भेरियन्ट ओमीक्रोन फैलिएसंगै संक्रमणदर दिनप्रति बढ्दै छ । अहिले त झन स्वास्थ्यकर्मी, सुरक्षाकर्मीदेखि कर्मचारी नै संक्रमित भएपछि सरकारका नियमित काम नै प्रभावित बनेका छन् । अस्पतालमा स्वास्थ्यकर्मी नै संक्रमित भएपछि सेवा प्रवाहमा समस्या देखिएको छ । नेपालमा दैनिक १२ हजार सम्म संक्रमित थपिरहेका छन् । होम आइसोलेसनमा ८७ हजार १ सय १७ जना संक्रमित छन् । तर, उनीहरु को को हुन , कति दिन होमआइसोलेसनमा बसे भन्ने तथ्यांक सरकारसँगै छैन ।

संक्रमितहरु तीन चार दिनमा सन्चो हुने वितिकै खुला रुपमा बाहिर हिडिरहेका छन् । नत सरकारले अनुगमन गरेको छ, नत संक्रमितले नै स्वस्थ्य मापदण्ड पालना नै गरेका छन् । सरकारले क्षमता अनुसारको परिक्षण समेत गर्न सकेको छैन् । परीक्षणको दायरा बढाउन विभिन्न पक्षले गरेको आग्रह पनि सरकारले सुनेको नसुन्यै गरिरहेको छ । अहिले स्थानीय स्तरमै संक्रमण फैलिसकेको छ । तर, लापरबाही भने रोकिएको छैन् । स्थिति भयावह भइसक्दा पनि सरोकारवालाले दिएको सुझावलाई सरकारले बेवास्ता गर्दै आएको छ । आफ्नो भूमिका ठीक ढंगले पूरा गर्न नसके पनि सरकारी अधिकारीहरु सावधानीको रटान लगाउन छोडेका छैनन् ।

सरकारी निकायहरु कोरोना संक्रमण नियन्त्रणमा प्रभावकारी काम गरिरहेको दाबी गर्छ । तर, विज्ञ भने सरकारको कामकारबाहीप्रति सन्तोषजनक छैनन् । सरकार आफैँले अवस्था गम्भीर भइरहेको बताइरहँदा संक्रमण नियन्त्रण र रोकथामका लागि चालेको कदम पर्याप्त देखिएको छैन । यस्तै सर्वसाधारणले अरुबेला जस्तै लापरबाही गर्दा स्थिति गम्भीर देखिएको छ । त्यसैले अब पनि सतर्कता नअपनाउने हो भने स्थिति थप भयावह हुने देखिन्छ ।