समाचार

मल कारखाना स्थापना गरे सरकारले सहयोग गर्छ : प्रधानमन्त्री देउवा


काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले मल कारखाना स्थापना गर्न उद्योगी व्यवसायीहरूलाई आग्रह गरेका छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा अफगानी नागरिकहरूलाई सहयोग गरेर फर्किएका उद्योगी, व्यवसायी र सरकारका प्रतिनिधिहरूसँगको भेटमा प्रधानमन्त्री देउवाले नेपालमै मल कारखाना स्थापना गर्न आह्वान गरेका हुन् ।

उनले उद्योगी, व्यवसायीहरूले मल कारखाना स्थापना गरेमा सरकार सहयोग गर्न तयार रहेको पनि बताए । प्रधानमन्त्री देउवाले अफगानिस्तानमा खाद्यान्न संकटको बेला मानवीय सहयोग गर्नु सरकारको दायित्व भएको भन्दै अफगानी नागरिकहरूलाई सहयोग गरेकोमा सरकारको तर्फबाट धन्यवाद ज्ञापन गरे ।

उनले भने, ‘अफगानिस्तानमा अत्यन्तै खाद्य शंकट छ। त्यसमा यूएनएसमेतले अफगानीहरू भोकै मर्नथाले मानवीय सहायता सहयोग चाहियो भनेर सहयोग माग्दा नेपालका सबै उद्योगपति सबैले मानवीय संकटमा खाद्यान्न पुर्‍याउने जस्तो कुरामा मद्दत गर्नुभयो, सबैलाई हार्दिक धन्यवाद ।’

अहिले कोरोना भाइरसले पनि देशलाई हैरान गरेको भन्दै देउवाले नयाँनयाँ भेरियन्ट आइरहेकाले स्थिति डरलाग्दो भएको बताए ।

देउवाले भने, ‘मैले भनेकै हो, खोप खोप खोप भनेर । खोप लगाउने मान्छे नै नभइरहेको जस्तो कुरा छ। अहिले जत्ति पनि खोप छ। तर खोप लगाउन मान्छे चाहँदैन। त्यसैले बुस्टर डोज भन्यौँ, त्यसपछि पनि कोरोना भयो मान्छेहरूलाई। हामी अब जसरी भएपनि ओमिक्रोन भाइरसबाट मुक्त हुनुपर्छ। यस्तो बेलामा स्वास्थ्यका मापदण्ड पालना गर्न गराउन प्रोत्साहन गर्नुपर्छ ।’

उनले कोरोनाविरुद्धको खोप सरकारको पहिलो प्राथमिकता भएकोले सबैले लगाएर कोरोनाबाट सुरक्षित हुन पनि आग्रह गरे ।