राजनीति

वर्षमान पुन स्वदेश फर्किए, अब महासचिवको भिडन्त


काडमाडौँ – नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन सोमबार साँझ नेपाल फर्किएका छन् । पूर्व अर्थमन्त्रीसमेत रहेका नेता पुन झण्डै ४ महिना लामो उपचार सकेर नेपाल फर्किएका हुन् ।

दुर्लभ वंषाणुगत जण्डिसबाट ग्रसित नेता पुन उपचारको लागि गत असोज १३ गते थाइल्याण्डको बैंकक गएका थिए । बैंककपछि थप उपचारका लागि उनी चीनको सेन्जेनमा रहेको थर्ड पिपुल्स हस्पिटलमा गएका थिए । स्वदेश फर्किदै गर्दा पुनले पार्टीमा महासचिवको लागि आफू दाबेदार रहेको बताएका छन् । उपचार गरी सोमबार साँझ काठमाडौं ओर्लिएका नेता पुनले विगतमा सचिव भएर काम गरेकाले अहिले आफू महासचिवको स्वभाविक दाबेदार भएको बताएका हुन् ।

आफ्नो दाबेदारी प्रस्तुत गर्दा पार्टीभित्रको सहमतिलाई पनि स्वीकार गर्ने नेता पुनले बताए । माओवादी केन्द्रको ८ औं महाधिवेशनको क्रममा अध्यक्ष पुष्पकमल दाहालले पनि नेता पुनले पदाधिकारीमा इच्छा व्यक्त गरेको कुरा अरु नेताहरूमाझ राखेका थिए । माओवादीको ८ औं महाधिवेशनबाट अध्यक्षमा पुष्पकमल दाहालसहित केन्द्रीय कमिटी चयन भए पनि पदाधिकारी चयन भने थाती नै छ ।

पुनले पार्टीको सबै तहमा समझदारीबाटै नेतृत्व चयन भएर आएको अवस्थाले आन्तरिक एकता र समझदारीबाट पाएको जिम्मेवारी आफूले स्वीकार गर्ने पनि बताए । सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग उनले यस्तो प्रतिक्रिया दिएका हुन् । पुनले भने ‘छलफल हुँदै गर्दा कहाँनेर फिट हुने भन्ने कुरा समझदारीबाट गर्न सकिन्छ भन्ने मलाई लाग्छ ।’