राजनीति

राज्‍यको खर्च जोगाउन तीनै तहको चुनाव एकैपटक गर्नुपर्छ : माओवादी


काठमाडौँ — नेकपा (माओवादी) केन्द्रको पूर्व-स्थायी कमिटी सदस्यहरूको बैठकले निर्वाचन प्रक्रिया महँगो भएकाले तीनै तहको चुनाव एकैपटक गर्नुपर्नेमा जोड दिएको छ ।

शनिबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले तीनवटै तहको चुनाव सकेसम्म कम खर्चमा एकैपटक कसरी गर्न सकिन्छ ? भनेर छलफल भएको भएका बताए ।

उनले भने, ‘अब निर्वाचन आयोग, पत्रकार, बुद्धिजीवीहरूको रायअनुसार कानुनविद्हरूसँग छलफल गरेर निष्कर्षमा पुग्नुपर्छ। चुनावमा सकेसम्म कम खर्चमा एकैपटक गर्न पाए हुन्थ्यो भन्ने हाम्रो कुरा हो । यो छलफल अझ पनि जारी छ ।’

उनले संसदमा विचाराधीन रहेको अमेरिकी परियोजना एमसिसीबारे पार्टीले बनाएको कार्यदलको सुझावको आधारमा अघि बढ्नेसमेत बताए । प्रवक्ता महराले भने, ‘एमसिसीको कुरा अलि चर्को ढंगले उठेको छ । त्यसमा हाम्रो पार्टीले एउटा कार्यदल बनाएको छ । त्यसको सुझाव लिएर आवश्यक परिमार्जन संशोधन गरेर अगाडि बढ्न सुझाव दिएपछि मात्रै परिमार्जनसहित अघि बढ्ने कुरामा छलफल हुन्छ ।’