राजनीति

एक वर्ष भित्र तीन वटै तहको निर्वाचन गर्न सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री देउवा


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्ष भित्रमा तीन वटै तहको निर्वाचन गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ ।

शुक्रवार अपरान्ह राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एक वर्ष भित्रमा तीन वटै तहको निर्वाचन गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भएको हो । उहाँले एक वर्षभित्रै तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व सरकारमाथि रहेको भन्दै निर्वाचनको पूर्व तयारीका कामहरु सम्पन्न गर्न सम्बन्धित निकायहरुलाई निर्देशन समेत दिनुभयो ।

प्रधानमन्त्री देउवाले संसदमा भएका सबै राजनीतिक दलहरुसँग संवाद र सहमतिका माध्यमबाट संसदको गतिरोध अन्त्य गरी विचाराधीन विषयलाई निस्कर्षमा पु¥याइने पनि स्पष्ट पार्नुभयो । प्रधानमन्त्री देउवाले कोरोनाको नयाँ प्रकारको भेरियन्टले नागरिकको स्वास्थ्यमा जटिल समस्या थपेको भन्दै यसको नियन्त्रण र निदानको लागि सरकारलाई आफ्नो आफ्नो क्षेत्रबाट सहयोग गर्न पनि अनुरोध गर्नुभयो ।

उहाँले सरकारले संविधानको कार्यान्वयन, कानूनी राज्य र सुशासनको प्रत्याभूति, शान्ति प्रक्रियालाई पूर्णता दिन बिस्तृत शान्ति सम्झौताका बाँकी कार्यभार तथा विभिन्न पक्षसँग भएका सहमतिको कार्यान्वयन गर्ने, राजनीततक दलहरूको सहमतिमा नागरकिताको समस्याको समाधान गर्ने, संघीयता कार्यान्वयन एवं प्रदेश र स्थानीय तहका सरकारलाई सबलीकरण गर्ने कार्यलाई सरकारले उच्च मूल्यांकनमा राखेको बताउनु भयो । प्रधानमन्त्री देउवाले आगामी चैत्र मसान्तसम्म खोप लगाउन यौग्य सबै नेपालीहरुलाई निःशुल्क खोपको पूर्ण मात्रा उपलब्ध गराउने पनि बताउनु भयो ।

उहाँले कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि तीन वटै सरकारसँग समन्वय र सहकार्य बढाइएको बताउनु भयो । उहाँले स्वास्थ्य प्रणालीमा साधन, श्रोत र जनशक्तिको अभाव हुन नदिने प्रतिवद्धता समेत जनाउनु भयो ।