राजनीति

उपत्यकामा जोर विजोर प्रणाली लागू,सार्वजनिक स्थानमा जाँदा खोप लगाएको कार्ड अनिवार्य


काठमाडौँ – सार्वजनिक ठाउँमा कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गर्ने सरकारी निर्णय शुक्रबारदेखि लागू भएको छ । सरकारी नियमअनुसार अब कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई यात्रा, पार्कजस्ता सार्वजनिक ठाउँमा जाँदा खोप लगाएको कार्ड वा कार्डको फोटो देखाउनुपर्नेछ ।

आजदेखि लागू हुने गरी सरकारले यो नियम लगाउने निर्णय गरेलगत्तै खोप लगाउनेहरुको संख्या बढेको छ । तर सरकारले खोप केन्द्रमा भिड व्यवस्थापन गर्न भने सकेको छैन । त्यसैगरी, काठमाडौं उपत्यकामा आज रातिबाट यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले सो निर्णय गरेका हुन् ।

राति १२ बजेबाट यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको हो । सार्वजनिक र निजी सवारी साधन जोर गते जोर र बिजोर गते बिजोर नम्बरका मात्र चल्न पाउने छन् । स्वास्थ्य सामग्री बोकेका सवारीसाधन, एम्बुलेन्स, दमकल, शववाहन तथा पेट्रोलियम पदार्थसहित अनिवार्य आवश्यकता पर्ने ढुवानीका सामान बोकेका सवारीलाई जोर बिजोर लागू हुने छैन ।