राजनीति

प्रचण्डको ‘अर्ली इलेक्सन’ प्रस्तावले सत्ता गठबन्धनमै तरंग


काठमाडौँ – वैशाख या जेठको पहिलो हप्ताभित्र पालिकाको चुनाव गर्ने गरी मिति घोषणा गर्न ढिलाइ भइरहँदा सरकार अझै अलमलमा छ । निर्वाचन आयोगले यसअघि नै वैशाखमा पालिकाको चुनावको मिति तोक्न सरकारसमक्ष प्रस्ताव गरिसकेको छ ।

वैशाखमा चुनाव गर्नको लागि माघ पहिलो हप्ता अर्थात आजसम्ममा मिति घोषणा भइसक्नुपर्छ । तर पालिकाको चुनाव वैशाखमा गर्ने कि सार्ने भन्ने विषयमा सरकार अलमलमा छ । पहिले सङ्घीय चुनाव गर्नुपर्ने प्रस्ताव आएपछि सत्तारुढ गठबन्धनले चुनावका विभिन्न तीन विकल्पमा छलफल अगाडि बढाएको छ । थप छलफलका लागि उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक आज बोलाइएको छ ।

पछिल्लोपटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पालिकाको चुनाव सारेर पहिले सङ्घीय चुनाव गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ । तर सत्तारुढ दल र कांग्रेसभित्रै यस विषयमा सहमति जुटेको छैन । सत्तारुढ गठबन्धनमा वैशाखमा पालिकाको चुनाव गर्ने, वैशाखमै संसद्को चुनाव गर्ने कि तीनवटै तहको चुनाव वैशाख या मंसिरमा गर्ने भन्ने विकल्पमा छलफल भएको छ ।