राजनीति

माओवादीको महाधिवेशन अझै अधुरै, प्रचण्डलाई पदाधिकारी छान्न सकस (भिडियोसहित)


काठमाडौँ – एक हप्ता बढी समय खर्चेर पार्टीको ८ औं महाधिवेशन सम्पन्न गरेको माओवादी केन्द्रले अझै केन्द्रिय पदाधिकारीको टुङगो लगाउन सकेको छैन । शीर्ष नेताहरु कोरोना संक्रमित भएपछि प्रभावित बनेको माओवादी केन्द्रको नेतृत्व चयन प्रक्रियाले कहिलेसम्म पूर्णता पाउँछ त ?

ठूलै तामझामका साथ पौष ११ देखि १८ सम्म आठ दिन देशभरबाट आएका एक हजार ६ सय ३१ प्रतिनिधिको सहभागीतामा माओवादी केन्द्रले पार्टीको ८ औं महाधिवेशन सम्पन्न गर्यो । महाधिवेशन सम्पन्न गर्दै पहिलो केन्द्रीय समितिले पदाधिकारीको टुंगो लगाउने उल्लेख गरेको थियो । तर पहिलो वैठकले अध्यक्ष चयन बाहेक अन्य पदाधिकारीका विषयमा छलफल नै हुन सकेन । लगत्तै पार्टी अध्यक्ष प्रचण्ड सहित शीर्ष नेताहरुमा कोरोना संक्रमण पुष्टि भएपछि पौष २५ को वैठक स्थगित भयो । तत्पश्चात माओवादी केन्द्रको नेतृत्व चयन थप अनिश्चित बनेको छ । केन्द्रमा मात्र होइन, प्रदेशको पनि हालत उस्तै छ ।

मधेश, लुम्बिनि र सुदुरपश्चिम लगायतका प्रदेशमा नेतृत्व चयन प्रक्रियाले पूर्णता पाउन सकेको छैन । केन्द्रिय समितिको आगामी वैठक माघ ८ गते बोलाइएको छ । कोरोनाका कारण नेतृत्व चयनको प्रक्रिया केहि पछि धकेलिए पनि माघ ८ मा प्रत्यक्ष सम्भव नभए भर्चुवल माध्यमबाट भए पनि यस विषयमा छलफल अगाडि बढ्ने माओवादी नेताहरुको दावी छ ।

लोकतान्त्रिक पद्दतीबाट भन्दा टिके प्रथाबाट केन्द्रीय सदस्य चयन गर्ने परम्परालाई तोड्ने दावी गरेको माओवादीले यो पटक पनि टिके प्रथालाई नै निरन्तरता दियो । समूहगत रुपमा मिलाएर २९९ मध्ये २३६ केन्द्रीय सदस्य घोषणा गरेका प्रचण्डले पदाधिकारी चयनमा पनि आफ्नै तजविज प्रयोग गर्ने तयारीमा छन् । यता नेताहरु भने निर्वाद रुपमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने पक्षमा छन् । सम्भव भए सहमति नभए निर्वाचन गरेरै भए पनि माघ ८ को केन्द्रिय समितिको वैठकले पदाधिकारीलाई पूर्णता दिनुको विकल्प नभएको नेताहरुको भनाई छ ।

लोकतान्त्रिक पद्धति अनुसरण गरिसकेको दाबी गर्ने माओवादी केन्द्रले नेतृत्व चयनमा लोकतान्त्रिक विधिलाई अझै अनुसरण गर्न सकेको छैन । नेतृत्व चयनमा टिके प्रथा कायमै राखेका छन ।

माओवादी केन्द्रको पदाधिकारीमा आंकाक्षीहरुको लर्को लामै छ । त्यसमा पनि देशी विदेशी शक्ति केन्द्रको प्रत्यक्ष अप्रत्यक्ष दवावले प्रचण्ड आफै सकस छन् । केन्द्रीय कार्यसमितिको बैठकले नै पदाधिकारी छान्नुपर्ने विधानको व्यवस्था र कोरोनाको बढ्दो ग्राफलाई मध्यनजर गर्दा तत्काल माओवादी केन्द्रले पदाधिकारीलाई पूर्णता दिने अपेक्षा गर्ने अवस्था छैन ।