राजनीति

अनेरास्ववियुले जलाए प्रधानमन्त्रीको पुत्ला,प्रहरीद्वारा लाठी चार्ज


काठमाडौँ – विद्यार्थी संगठन अनेरास्ववियूले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोनमा अस्कल क्याम्पस परिसरमा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।

पुत्ला जलाउनु अघि विद्यार्थीहरुले ‘मूल्यवृद्धि फिर्ता गर’ लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए । सोही क्रममा विद्यार्थी र प्रहरीबीच मुठभेड भएको थियो । प्रहरीद्वारा विद्याथीमाथि लाठी चार्ज भएको थियो भने विद्यार्थीले पनि प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । क्याम्पस परिसर अहिले सामान्य रहेको छ ।

नेपाल आयल निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटिर ३–३ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो । नयाँ मूल्यअनुसार अब एक लिटर पेट्रोललाई १ सय ३९ रुपैयाँ तिर्नुपर्ने छ ।

यसैगरी एक लिटर डिजल र मट्टीतेलको मूल्य समान १२२ रुपैयाँ पुगेको छ । आन्तरिक हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरी प्रतिलिटर १०६ रुपैयाँ कायम गरिएको छ ।