राजनीति

निर्वाचन मिति तय गर्न सत्ता गठबन्धनको बैठक बस्दै


काठमाडौँ – आगामी स्थानीय तह निर्वाचनलगायतका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै छ । सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक अपराह्न ४ बजे बालुवाटारमा बस्ने राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिनुभयो ।

बैठकमा आगामी स्थानीय तह निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुने उहाँले बताउनुभयो । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन वैशाखमा गर्ने गरी मिति तय गर्न सरकारलाई आग्रह गर्दै आएको छ । तर, सत्तारुढ दलहरु सबै तहको चुनाव एकैपटक गर्ने मनस्थितिमा देखिएका छन् ।

सत्ता सञ्चालनको सहजीकरणका लागि गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिमा आबद्ध नेताहरू स्थानीय तहअघि संघीय निर्वाचन गर्ने गरी छलफलमा जुटेका छन् । वैशाखमा संघीय विर्नाचन गरेर स्थानीय तहको निर्वाचन केही समयपछि सार्ने विषयमा समेत बैठकमा छलफल हुने बताइएको छ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा रहेको उच्चस्तरीय संयन्त्र स्थानीय तहभन्दा अघि आमनिर्वाचन गर्ने गरी छलफलमा जुटेको छ । गठबन्धनको बैठकमा स्थानीय तह, प्रदेश सभा तथा संघीय संसदको निर्वाचनबारे मोटामोटी खाका तयार गर्ने दलहरूको तयारी छ ।