काठमाडौँ – छैठौँ पुस्ताको लडाकु विमानको इन्जिन विकास गर्न जापान र बेलायतले सहकार्य गर्ने भएका छन् । अत्याधुनिक लडाकु जहाज बनाउने विश्वव्यापी प्रतिस्पर्धामा अरुभन्दा अगाडि रहन जापान र बेलायतले सहकार्यको घोषणा गरेका हुन् ।
इन्जिन निर्माण सहकार्यमा जापानको प्रतिनिधित्व मित्सुबिसी हेभी इन्डस्ट्रिज र इसिकावाजिमा हेभी इन्डस्ट्रिज तथा बेलायतको प्रतिनिधित्व रोल्स रोयस र बीएई सिस्टम्सले गर्नेछन् । जापान र बेलायतबीच विमानबाटै आकासमा प्रहार गर्न मिल्ने क्षेप्यास्त्र विकासमा पनि सहकार्य हुँदैछ । यसले आकासमा प्रभुत्व स्थापित गर्ने लक्ष्य उनीहरुले लिएका छन् ।
अहिले जापान र बेलायत दुवैले अमेरिकामा बनेको पाँचौँ पुस्ताको एफ–३५ विमान चलाउँछन् । तर, यो विमान आकासमा समग्र प्रभुत्व स्थापित गर्न नभई आक्रमण क्षमता बढाउन मात्र बनाइएको हो ।
छैठौँ पुस्ताको लडाकु विमानको क्षमताबारे विज्ञहरु एकमत छैनन् । तर, ती विमानको मोड्युलर डिजाइन हुने, पाइलटचालित र स्वचालित दुवै क्षमता हुने, ड्रोनको झुण्ड परिचालन गर्न सक्ने, आर्टिफिसियल इन्टेलिजेन्स, भर्चुअल रियालिटीजस्ता विशेषता समेटिएको हुने अनुमान गरिएको छ ।


प्रतिक्रिया