राजनीति

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, अझै करीब १ अर्ब ८८ करोड रूपैयाँ घाटा


काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । पेट्रोल, डिजेल र मटितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको हो । अब पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ र डिजेल तथा मटितेल १२२ रुपैयाँ पुगेको छ ।

घाटा भएपनि खाना पकाउने ग्यासको मूल्य भने नबढाइएको निगमले जानकारी दिएको छ । आन्तरिक हवाई ईन्धनमा साबिकको बिक्री मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरी प्रति लिटर १०६ रुपैयाँ कायम गरिएको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १०० अमेरिकी डलरले वृद्धि गरी ९९५ अमेरिकी डलर कायम गरिएको निगमले जनाएको छ ।

पछिल्लो पटक गत कात्तिक २४ गते मूल्य समायोजन भएको थियो । निगमले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १२ पटक नयाँ मूल्य प्राप्त गरेको र अधिकांश पटक मूल्य बढेर आए पनि ३ पटक मात्र मूल्य समायोजन गरेको जनाएको छ । मूल्य समायोजन पश्चात् पनि १५ दिनमा करीब १ अर्ब ८८ करोड रूपैयाँ घाटा हुने देखिएको निगमले बताएको छ ।