देश

चिसो बढेसँगै तराइका अति विपन्न समुदाय घुरको भरमा रात काट्न बाध्य (भिडियोसहित)


काठमाडौँ – तराईका अति विपन्न समुदाय माघ महिनाको मुटु कमाउने जाडोमा थर्थरी काम्दै रात कटाउन बाध्य भएका छन् । दिनमा जाडो छल्न बालिने घुरको सहारा लिने गरे पनि रात काट्न कठीन भएको पीडितहरु बताउँछन् ।

देशभर चिसो बढेसँगै जनजीवन प्रभावित बनेको छ । ओड्ने र ओछ्याउने लत्ताकपडाको अभावले तराईका विपन्न समुदायलाई थप मारमा परेका छन् । अहिले उनीहरुको लागि फालिएका दाउरा, प्लास्टिक र झुत्रा कपडा बटुलेर बालिएको घुरको आगो नै न्यानो पार्ने सहारा बनेको छ । सर्लाही जिल्लाका मुसहर लगायतका दलित गरिब बस्तीमा अहिले बढ्दो जाडोबाट बिरामी, बुढाबुढी र स–साना बालबालिकालाई कसरी जोगाउने भन्ने चिन्ता बढेको छ ।

खासगरी यहाँका अती विपन्न मुसहर, चमार, मेस्तर र डोम जाति समुदायका बस्तीमा बिजोग देखिन्छ । अहिले यस्ता गरिब बस्तीमा जाडो छल्ने मुख्य सहारा नै घुर बनेको छ । स–साना झुप्राहरु भएका बस्ती पिच्छे घुर बालेर दिन कटाउने गरेका छन् । विपन्न वर्गको बसोबास रहेका यस्ता बस्तीहरुमा महिला, बालबालिका तथा बुढापाकाहरु समुहमा घुरको वरिपरि एकैसाथ हात फैलाइ आगो तापेर न्यानो खोजी रहेको भेटिन्छन् ।

हिउँदको मौसममा सर्लाहीसहित तराई मधेसमा वर्षेनि शीतलहरले सताउने गरेको छ । यस्तो समयमा स्वास्थ्यकर्मीहरु न्यानो लुगा लगाउन, घरबाहिर ननिस्कन तथा पोषिलो र तातो खानेकुरा खान सुझाव दिने गरेका छन् । जाडोबाट बच्न दलित बस्तीमा बालिएका घुर ताप्दा त्यसबाट निस्कने विषाक्त धुँवाले श्वासप्रश्वासका बिरामीहरु बढेको मलंगवा स्थित एक निजी अस्पताल स्तुति सौम्या हेल्थ केयरका डाक्टर गुणेश्वर झाले बताए । चिसोमा त्यसैपनि स–साना बालबालिका, महिला र बुढापाकालाई निमोनियाले सताउने डाक्टर झाल बताए ।

शितलहरबाट हुनेखानेलाई त्यति समस्या छैन, तर हुँदा खानेलाई धेरै समस्या छ। हुने खानेहरूले बाक्लो लुगा लगाएर शरीरलाई न्यानो राख्छन । तर, आर्थिक अवस्था कमजोर भएकाहरुका लागि शीतलहर कष्टकर बनेर आउँछ । जाडो छल्न न्यानो कपडा किन्ने उनीहरूमा हैसियत हुँदैन।
मुसहरसहितका दलित समुदायको जीवनस्तर उकास्न विभिन्न क्षेत्रमा स्थानीय, प्रदेश र संघीय सरकारले थुप्रै बजेट खर्च गर्दै आए पनि गरिब र विपन्नलाई जाडोबाट बचाउने सरकारी योजना योजनामै सीमित रहँदै आएको छ ।

शीतलहरका कारण शहर, बजार तथा ग्रामीण क्षेत्रमा मानिसहरूको चहलपहल पातलिदैं गएको छ । मानिसहरू आ–आफ्नो काम छाडेर चिसोबाट बचन न्यानो कपडा र आगोको सहारा लिन थालेका छन । तर यस्तो अवस्थामा पनि यहाँका स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकार शीतलहरबाट पिडित आफ्ना जनतालाई बचाउन कुनै पहल नगरेको स्थानीयहरूले गुनासो गरेका छन्।
बाइट–राजकुमार राय, स्थानीय

गएको वर्ष मलंगवा नगरपालिकाले बजारका विभिन्न चोक–चोकमा ताप्नकोलागि दाउरा वितरण गरेको भएपनि यसवर्ष भने पुस कटेर माघ महिना आइसक्दा समेत दाउराको व्यवस्था नगरेको स्थानीले गुनासो गरेका छन् ।।