राजनीति

काठमाडौँ उपत्यकामा नयाँ नियम लागू, आधाभन्दा बढी संक्रमित उपत्यकामै


काठमाडौँ – कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि काठमाडौं उपत्यकामा नयाँ नियम लागू भएको छ । काठमाडौंका तीन वटै स्थानीय प्रशासन कार्यालयले आजदेखि लागू हुने गरी नयाँ आदेश जारी गरेका हुन् ।

आजबाट सबै प्रकारका सभा जुलुस माघ मसान्तसम्मको लागि बन्द गरिएका छन् । सबै प्रकारका गोष्ठी, सभा, सेमिनार भर्चुअल माध्ययमबाट गर्न प्रशासन कार्यालयहरूले आग्रह गरेका छन् । माघ ७ गतेदेखि भौतिक रुपमा उपस्थित हुनैपर्ने भएमा स्वास्थ्य मापदण्डको पालना गरी २५ जना भन्दा बढी नहुने गरी खोप लगाएकाहरुलाई मात्रै उपस्थित गराउने उल्लेख छ ।

डान्सबार, सिनेमा हल, रोधीघर, फुटसल, पटके हाटबजार लगायत मानिस भिडभाड हुने क्षेत्र माघ १५ गतेसम्म बन्द गर्ने आदेशमा उल्लेख छ। आदेशअनुसार मठ–मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी माघ मसान्तसम्म नित्य पूजा, ध्यान र प्रार्थना मात्र गराउन भनिएको छ ।

सपिङ मल, डिपार्टमेन्ट स्टोर, सुपर मार्केट वा अन्य प्रकारका पसल एक पटकमा २५ जना भन्दा बढी नहुने, कुनै पनि सामान अनावश्यषक रूपमा नछुने, दुई व्यक्तिबीचमा कम्तीमा दुई मिटर दुरी कायम गर्ने, मास्क अनिवार्य गर्ने लगायतका मापदण्डहरू पालना गर्न आदेश जारी गरिएको छ । सार्वजनिक यातायाको हकमा सिट क्षमताभन्दा बढी नराख्ने, यात्रुले अनिवार्य मास्क लगाउन पर्ने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्न आदेश दिइएको छ ।

मास्क नलगाउने व्यक्तिलाई यातायातमा भित्र प्रवेश नदिन भनिएको छ । यसैबीच हाल काठमाडौंमा सक्रिय संक्रमितको संख्या १७ हजार ७ सय ९ पुगेको छ । यस्तै, ललितपुरमा २ हजार ३ सय ९६ र भक्तपुरमा ४ हजार ४ सय ७१ जना सक्रिय संक्रमित छन् । राजधानीको बाक्लो जनसंख्यामा निरन्तर ५० प्रतिशतभन्दा बढी संक्रमित देखिनुलाई विज्ञहरूले निकै जोखिमको रुपमा औंल्याएका छन् ।