राजनीति

मन्त्रीहरुको सय दिन, को कति सफल ? (भिडियोसहित)

के आलेले ढाक्दिनु पर्ने हो देउवा सरकारको लाज ?


काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि किस्ता किस्तामा मन्त्री बनेकाहरुले आफ्नो सय दिने कार्य प्रगती विवरण पेश गर्न थालेका छन् । मन्त्रीहरुको प्रगती विवरण हेर्दा कायपलट नै भए झै देखिएको छ, तर बास्तविकता भने फरक छ ।
देउवा सरकारमा शहरी विकास मन्त्रालयको जिम्मेबारी सम्हालीरहेकी रामकुमारी झाँक्रीले सोमबार आफ्नो सय दिने कार्यप्रगती विवरण पेश गरिन् । मन्त्री भएलगत्तै इन्जिनियरहरुले ढलको विर्को समेत लगाउन नसकेको तिखो व्यङ्ग प्रहार गरिकी उनी यसबीचमा पिर्के सलामी लिन र राउटेसँगको मितेरी साइनो गाँस्नमै व्यस्त देखिइन् ।

पार्टी विभाजनपछि नेकपा एकिकृत समाजवादीबाट पहिलो पटक मन्त्री बनेकी झाँक्रीले आफ्नो मन्त्रालयमा मन्त्री पद सम्हालेपछि चालु आर्थिक वर्षमा पछिल्लो पाँच महिनामा कुल बजेको ९.५५ प्रतिशत मात्र खर्च हुँदा शहरी विकास मन्त्रालयले कुल विनियोजित बजेटमध्येको १७ प्रतिशत खर्च गरेको छ । उनले मन्त्रालयगत प्रगति १८.९१ प्रतिशत भएको जनाएकी छिन ।

आफुले मन्त्रालय सम्हालेपछि मन्त्रालयको नीतिगत सुधार र समन्वयात्मक कामलाई उच्च प्राथमिकता दिएको उनको दावी छ । सामाजिक पूर्वधारहरुको विकासदेखि विद्यमान राष्ट्रिय शहरी नीतिको नीतिगत व्यवस्थापनमा समेत उल्लेख्य काम गरेको दावी गरेकी छिन् ।

अहिले चर्चा समाजवादीबाटै मन्त्री बनेका प्रेम आलेको अलिक बढि नै छ । नारायणहीटीको जग्गा तथा पशुपती धर्मशाला भाडामा दिने विषयमा भएको अनियमिततामा कडा रुपमा प्रस्तुत भएका उनले सम्बन्धीतलाई कारबाही प्रक्रिया अघि बताएका छन । उनी एक जना मात्र यस्तो मन्त्री देखिएका छन, जसका कार्यले प्रधानमन्त्री देउवामाथि नै लाग्ने अक्षमताको ट्यागलाई अलिक कम हुने आशा गरिएको छ । तर उनकै पार्टीबाट मन्त्री भएका विरोध खतिवडा भने उत्ती खरो उत्रिन सकेका छैनन् ।

आएको खोप भण्डारमा थुपारेर राख्ने अनि ओमिक्रोनको त्रास बढेपछि खोप कार्ड अनिवार्य गर्ने कार्यले उनको अक्षमता प्रष्ट पारिरहेको छ । अवस्था कृषीमन्त्री महिन्द्र राय यादवको पनि उस्तै छ । किसानलाई मल र विउ उपलब्ध गराउन असफल रहेका उनी प्रक्रिया अघि बढेको उत्तर दिएर पन्छिई रहेका छन ।

विश्लेषकहरुले समेत देउवाले पार्टीको महाधिवेशन भन्दा अरु कुनै काम गर्न नसकेको बताईरहँदा विपक्षी दलका नेताहरु समेत मन्त्रीहरु काम भन्दा चर्चाको खोजीमा लागेको आरोप लगाएका छन । संसार माध्यममा चर्चामा आउन विभिन्न फण्डा गर्ने नेपाली राजनीतिको रोग नै भएको बताउने उनीहरुले केहि चर्चित भनिएका मन्त्रीहरुको बाटो पनि त्यहि भएको बताएका छन ।

देउवा सरकारमा अर्थमन्त्री रहेका जनार्दन शर्माले पनि अपेक्षित काम गर्न सकेका छैनन । विश्वबैंकले नै ३ दशमलव नौ प्रतिशत आर्थिक वृद्धिदर हुने बताईरहँदा ७ प्रतिशत आर्थिक वृद्धिको रटानमा उनी व्यस्त देखिएका छन । कहालीलाग्दो अर्थतन्त्रका वारेमा विज्ञहरुसंग छलफल गर्ने कार्य समेत गर्न उनले सकेका छैनन् । परराष्ट्रमन्त्री नारायण खड्काको पनि अवस्था उहि छ । भारतले खुल्लमखुल्ला नेपाली भूमिमा सडक बनाँउदा समेत आवश्यक कदम चाल्न ढिलाई गरेका उनी घरमा आएका पाहुनालाई आफैले चिया बाढेको समाचारको चर्चामै रमाईरहेका छन ।