राजनीति

जनकपुर राजधानी राखेपछि मुख्यमन्त्रीको घरमा ढुंगामुढा प्रहार


काठमाडौँ — मधेस प्रदेशको राजधानी धनुषाको जनकपुरधाम कायम गरेको विरोधमा पर्साको वीरगञ्जमा सोमबारदेखि प्रदर्शन भइरहेको छ ।

मंगलबार पनि प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले वीरगञ्ज घर भएका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतको घरमा ढुङ्गामुढा गरेका छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ तेजारथ टोलस्थित मुख्यमन्त्री राउतको घरमा ढुङ्गामुढा गरिएको हो ।

नेपाली कांग्रेस वीरगञ्ज महानगर कमिटीले निकालेको र्‍यालीबाट निस्किएका एक युवकले ढुङ्गा हान्दा राउतको घरको सिसा फुटेको प्रहरीले जनाएको छ ।