बिजनेस

बैठक र छलफलमै वित्यो मन्त्री झाँक्रीको सय दिन, युवा उमेरकी मन्त्रीको कार्यक्षमतामाथि नै प्रश्न (भिडियोसहित)


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा क्याविनेटमा आशातित र चर्चामा समेत रहेकी शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आफ्नो सय दिन कार्यप्रगति सार्वजनिक गरेकी छिन् । पिर्के शलामी, राउटे वस्तीमा पुगेर सम्झना राउटेसँगको मितेरी साइनो गास्ने जस्ता विषयले चर्चा र आलोचनाको शिकार बनेकी झाँक्रीको सय दिन कस्तो रह्यो त ?

मन्त्री भएलगत्तै इन्जिनियरहरुको क्षमतामाथिको व्यङग्य प्रहार देखि गृहजिल्ला गुल्मीमा पिर्के सलामी हुँदै सम्झना राउटेसँगको मितेरी साइनो गाँसेका विषयले नाम होस्, बदनाम होस् तर गुमनाम नहोस् भन्ने भनाईमा शहरी विकासमन्त्री रामकुमारी झाँक्री सफल बनिन् ।

पार्टी विभाजनपछि नेकपा एकिकृत समाजवादीबाट पहिलो पटक मन्त्री बनेकी मन्त्री झाँक्रीले आफ्नो मन्त्रालयमा मन्त्री पद सम्हालेपछि चालु आर्थिक वर्षमा पछिल्लो पाँच महिनामा कुल बजेको ९.५५ प्रतिशत मात्र खर्च हुँदा शहरी विकास मन्त्रालयले कुल विनियोजित बजेटमध्येको १७ प्रतिशत खर्च गरेको छ । मन्त्रालयगत प्रगति १८.९१ प्रतिशत भएको जनाएको छ । मन्त्रालयगत प्रगतिको लेखाजोखा र कति सफल वा असफल विस्तारै चर्चा होला तर कामभन्दा हल्ला धेरै भएपछि मन्त्री झाँक्री निरन्तर चर्चामा छिन् ।

आफुले मन्त्रालय सम्हालेपछि मन्त्रालयगत नीतिगत सुधार र समन्वयात्मक कामलाई उच्च प्राथमिकता दिएको उनको दावी छ । सामाजिक पूर्वधारहरुको विकासदेखि विद्यमान राष्ट्रिय शहरी नीतिको नीतिगत व्यवस्थापनमा समेत उल्लेख्य काम गरेको दावी गरेकी छिन् ।
शहरी विकासका करोडौँ अर्वाैँका ठुलठुला योजनाहरु यस मन्त्रालयको मातहतमा रहेका छन् । कतिपय योजनाहरु अझै पनि दराजमा थन्कीएका छन् भने कतिपय योजनाहरु निर्माणाधिन अवस्थामा बर्षाैँदेखि लथालिंग छन् । तर मन्त्री झाँक्रीको यस तर्फ ध्यान पुग्न सकेको छैन ।

भिन्न विचार भएका शक्तिहरुको एकिकृत सरकार हुँदा सरकार आफै कमजोर र शासन संरचना नै तयार गर्न नसकेको विश्लेषकहरुको तर्क छ । मन्त्रीहरुमा काम भन्दा बढी सत्ताको संरक्षणको मोह हावी हुँदा नागरिकले तात्विक भिन्नता महशुस नगरेको उनीहरु बताउँछन ।
कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको ६ महिनामा मन्त्रीपरिषद फेरवदल र आफ्नै पार्टीको महाधिवेशन बाहेक नागरिकको जनजीविकासँग प्रत्यक्ष सरकार राख्ने सम्झन लायक काम भेटिन मुस्किल छ । मुलुकको सबै क्षेत्र लथालिङ्ग प्राय छ ।

झाँक्रीले मन्त्रालयगत प्रगति र आफ्नो सय दिनको प्रगति विवरण प्रस्तुत गरे पनि आलोचनाबाट अछुतो भने छैन । सरकार नै स्पष्ट योजनामा नरहेका बेला मातहतका मन्त्रालयहरुले गरेको गतिविधिहरु पनि परिणाममुखी बन्न नसकेको हो ।