राजनीति

जसपा र माओवादीको जित : मधेश प्रदेश नाम राखियो, राजधानी जनकपुरधाम (भिडियोसहित)


काठमाडौँ – जसपाका नेता लालबाबु राउत नेतृत्वको प्रदेश दुईले झण्डै चारबर्ष पछि प्रदेशको नाम र राजधानी पाएको छ । आज प्रदेश सभामा गरिएको मतदानबाट दुईतिहाई पु¥याएर राजधानी र नाम तोकिएको हो । प्रदेश एक भने अझै पहिचानविहिन छ ।

पुरै कार्यकाल सकिन लाग्दा पनि प्रदेशको नामसमेत राख्न नसक्नेले अरु के लछारपाटो लाउँछन् भन्ने आलोचना खेप्दै आएको प्रदेश दुईमा सोमबार बल्लतल्ल रस्साकस्सी टुंगियो । अस्थायी राजधानीकै रुपमा रहेको जनकपुरधामलाई स्थायी बनाउन एकमत रहेका दलहरु नामकरणको विषयमा भने एकमत थिएन । तथापी मतदानकै प्रक्रियामा गएपछि प्रदेश दुई अब मधेश प्रदेश बनेको छ ।

प्रदेशसभा सदस्य भरतप्रसाद साह र शैलेन्द्र यादव प्रस्तावक रहेको ‘मधेस’ प्रस्तावमाथि भएको मतदानमा १०३ जना कुल सदस्यको उपस्थित संख्या ९९ मध्ये ८० जनाले पक्षमा मत दिएका थिए । त्यसमध्ये ३४ जनाले विपक्षमा मत हाले । मधेश प्रदेशलाई सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) र नेकपा माओवादी केन्द्रले प्रस्ताव गरेका हुन् । जसमा प्रमुख प्रतिपक्ष लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले समर्थन गरेको थियो । मधेश नाम अनुमोदित भएपछि अब अन्य नाम स्वतः निष्कृय भएको सभामुख सरोजकुमार यादवले घोषणा गरेका छन् ।

कांग्रेसले ‘मिथिला भोजपुरा’, नेकपा एकीकृत समाजवादी र नेकपा एमालेले ‘जानकी’ तथा कांग्रेसकै सांसद राजेश्वर साहले ‘मध्य मधेश’ नाम प्रस्ताव गरेका थिए । यसअघि २०७६ चैत ३ मा राजधानी र नामाकरणका विषयमा मतदान भएपनि दुईतिहाई पुगेको थिएन् । फलतः नामसमेत न्वारन गर्न नसक्ने प्रदेशका रुपमा मधेश प्रदेश आलोचित हुँदै आएको थियो । अब प्रश्न प्रदेश एकतिर सोझिएको छ ।

पाँचबर्षको पदावधि सकिन केही समयमात्रै बाँकी रहदा पनि प्रदेश एकले नाम राख्न नसक्ने प्रदेशको पहिचान बचाइराखेको छ । योबीचमा एमाले नेता शेरधन राईलेमात्रै तीन बर्ष बढी सरकारको नेतृत्व गरे । त्यसयता एमालेकै भीम आचार्य हुँदै अहिले एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई मूख्यमन्त्री छन् । तर तीन मुख्यमन्त्री र दर्जनौं मन्त्री पाएको प्रदेशले राजधानी र नाम पाउन सकेको छैन ।