समाचार

स्वस्थानी र माधवनारायण ब्रत सुरू, शालीनदीमा देखीयो महिलाको यस्तो भीड (भिडियोसहित)


काठमाडौँ – श्रीस्वास्थानी व्रत तथा माधवनारायण मेला सुरु भएको छ । काठमाडौंको साँखुस्थित शालीनदीलगायतमा माधवनारायण तथा स्वास्थानीको व्रत सुरु भएको हो । महिनाभरि स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाकमात्रै खाना खाएमा मनोकांक्षा पूरा हुने जनविश्वास छ ।

प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म साँखुस्थित शालीनदी किनारमा माधवनारायण तथा स्वास्थानीको व्रत बस्ने परम्परा रहेको छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात गरिन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणसंगै स्वास्थानीको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ ।

माघ महिनामा माधव नाम हुने भएकाले स्वस्थानीसँगै माधव नारायणको व्रत, पूजा र उपासना गरिन्छ । स्वस्थानी परमेश्वरीको व्रत तथा माधवनारायणको व्रत बस्नाले शान्ति, सुख, समृद्धि अनि अध्यात्मिक चेतनामा वृद्धी भई सुस्वास्थ्य कायम रहने विश्वास गरिएको छ ।

प्राचीनकालदेखि लाग्दै आएको मेलामा यस वर्ष भने कोरोनाका कारण धेरै चहलपहल छैन् । गत वर्ष ४ सय जनाले माधवनारायणको व्रत बसेकोमा यो वर्ष १ सय २५ जनाले मात्र व्रत बसेका छन् ।

यता माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले पनि माधनारायण मेला नगरी व्रतमात्र गर्नेे जनाएको छ । एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, सुपारी, पान, फूल, रोटी, अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्य दिइन्छ ।

चढाइएका प्रसादमध्ये सबैबाट आठ–आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवं मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा बगाउने व्रत विधि छ । .