राजनीति

प्रदेश २ को नाम र राजधानी तोकेको खुसीयालीमा भोलि सार्वजनिक बिदा


काठमाडौँ – नाम र राजधानी तोक्न सफल भएपछि मधेस प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सोमबार मतदान प्रक्रियाबाट प्रदेशको नाम मधेस र रजाधानी जनकपुरधाम तय भएको खुसीयालीमा सरकारले भोलि सार्वजनिक बिदा दिने घोषणा गरेको सरकारका अर्थमन्त्री तथा प्रवक्ता शैलेन्द्र प्रसाद साहले जानकारी दिनुभयो । आज झण्डै चार वर्षपछि प्रदेशले स्थायी राजधानी र नाम पाएको हो । सोमबार प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि भएको मतदानमा राजधानी जनकपुर र नाम मधेस प्रदेश प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको हो ।

विशेष संसदीय समितिको नामकरणसम्बन्धी पहिलो प्रस्ताव ‘मधेस प्रदेश’ को पक्षमा ८० मत परेको छ । प्रदेश सभाको जम्मा १०३ जना सदस्यमध्ये उपस्थित ९९ जना प्रदेश सभा सदस्यमध्ये १९ जनाले विपक्षमा मतदान गरेका थिए ।