समाचार

श्रोत नखुलेको रकमसहित पक्राउ पर्नेहरुको संख्यामा वृद्धि, कहाँ जान्छ त्यो पैसा ? (भिडियोसहित)


काठमाडौँ — पछिल्लो समय श्रोत नखुलेको रकमसहित पक्राउ पर्नेहरुको संख्यामा वृद्धि भएको छ । गएको साउनदेखि पौषसम्म आइपुग्दा मात्रै करिब ६ करोड रकम प्रहरीले फेला पारिसकेको छ भने यस्ता घटनामा गत बर्षभन्दा तीन गुणाले वृद्धि भएको छ । जुन आकडाँले सुरक्षा निकायलाई गहिरिएर सोच्न बाध्य पारेको छ ।

पौष १७ गते त्रिभुवन विमानस्थलमा श्रोत खुल्न नसकेको ५० लाख रकम सहित सौर्य एयरलाईन्सकी कर्मचारी विराटनगर–४ की ३३ वर्षीया रेशा शाक्य पोखरेल पक्राउ परिन । प्रहरीले पक्राउपछि थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको थियो । विभागले शाक्यसहित तीन जना कर्मचारी नियन्त्रणमा लियो । अनुसन्धानबाट सो रकम सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलको रहेको खुल्यो भने दीपकले सौर्य एयरलाइन्सकै लेटरप्याडमा पचास लाख रुपैयाँ आफ्नो भएको जिकिर गर्दै कर्मचारीलाई रिहा गरिदिन अनुरोध गरेका थिए ।

विभागले पचास लाख रुपैयाँ धरौटी राखेर मात्रै कर्मचारी रिहा गर्न मिल्ने जवाफ फर्काएपछि उनले ५० लाख धरौटी राखेर कर्मचारीहरुको रिहा गरेका थिए । यद्यपी विभागले यति ठूलो रकम कहाँ र कसबाट आयोभन्ने विषयमा अनुसन्धान गरिहेको छ । उक्त रकमको श्रोत के हो ? कसरी र कहाँबाट आयो भन्ने विषयमा थप बुझ्न सौर्यका अध्यक्ष दीपक पोखरेललाई साता दिन भित्र आवस्यक कागजात लिएर विभागमा उपस्थित हुन बोलाइएको छ ।

यो त प्रतिनिधि घटनामात्रै हो । प्रहरीको तत्थ्याङ हेर्ने हो भने विगतका दुई महिनाको अवधीमा स्रोत विहिन पैसा सहित पक्राउ परेका घटनाहरुको संख्या ९ ओटा पुगीसकेको छ । त्रिभुवन विमानस्थल बाट ५० लाख सहित पक्राउ परेको बाहेक पनि यही पुषमा वीरगञ्जनमा ६ लाख ५४ हजार, जनकपुरमा ३८ लाख ३५ हजार सहित व्यक्तिहरु पक्राउ परेका छन् ।

त्यसैगरी गएको मंसिर २७ गते वीरगञ्जमा १८ लाख, मंसिर २० मा राजधानीको दरबारमार्गमा ६९ लाख ५० हजार, यस्तै गएको कार्र्तिक २३ गते वीरगञ्जमै २० लाख, यही कार्तिक १२ गते विराटनगरमा १८ लाख २० हजार, कार्तिक ५ मै धरानमा १८ लाख, कार्तिक ४ गते राजधानीको लोकन्थलीमा ८० लाख र गएको असोज १६ मा १५ लाख पचास हजार सहित मानिसहरु पक्राउ परेका थिए । श्रोत नखुलेको रकमको कारोबार र यसको ओसार पसारको सेटिङ मात्रै होइन, ट्रान्जिट प्वाइन्ट, विराटनगर, वीरगञ्ज र राजधानी भएको प्रष्ट देखिएको छ । जसलाई विज्ञहरु भने खतराको संकेतको रुपमा अथ्र्याउछन ।

जानकारहरुका अनुसार स्रोत नखुलेको पैसा अवैध कार्यमै खर्च हुने गरेका छन । अर्कातर्फ यसले हुन्डीमार्फत हुने कारोबार बढ्दै गएको प्रष्ट हुने उनीहरुको भनाई छ । यसरी विना स्रोतको रकम समातिएपनि कारबाही फितलो हुने र भरियामात्र समातिने प्रवृत्तीका कारण यस्ता घटनामा कमी आउन सकेको छैन । जसले मुलुकमा आर्थिक अपराधको जालो दिनप्रतिदिन डरलाग्दो रुपमा फैलिरहेको छ ।