राजनीति

मौलिक पर्व नेपाली समाजको एकताको प्रतीक हो : प्रचण्ड


काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न समुदायका आफ्ना मौलिक पर्व नेपाली समाजको एकताको प्रतीकका रूपमा उभिएको बताएका छन् । उनले यस्ता पर्वले सामाजिक सौहार्दता र सामुदायिक भावनाको विकास गराउने पनि उल्लेख गरेका छन् ।

थारु समुदायको माघी तथा मगर र अन्य समुदायको माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) पर्वका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उनले आफ्नो मौलिक परम्परा र संस्कृति अनुरूप एउटै पर्वलाई पनि भिन्नभिन्न भूगोल र समुदायमा मनाउने प्रचलन हुनु आफैंमा सांस्कृतिक सहिष्णुताको राम्रो उदाहरणका रूपमा रहेको बताएका छन् ।

यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धिका साथै सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै उनले नेपाल भौगोलिक एवम् सांस्कृतिक विविधताले भरिएको मुलुक भएको स्मरण गरेका छन् ।

शुभकामना सन्देशमा प्रचण्डले उल्लेख गरेका छन्,“यी चाडपर्वले नयाँ उमङ्ग र उत्साहका साथ एकआपसमा एकता र भाइचारा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका पनि छन् ।

नेपाली समाज, राष्ट्रिय एकता र अखण्डताको जग बलियो बनाउन पनि यस्ता सांस्कृतिक पर्वलाई आधार स्तम्भका रूपमा लिन सकिन्छ ।”