समाचार

सातौँ राष्ट्रिय योग दिवस मनाइँदै






   
काठमाडौँ – ‘सर्वाङ्गीण विकासका लागि योग’ भन्ने नाराका साथ सातौँ राष्ट्रिय योग दिवस देशभर भर्चुअल माध्यमबाट विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण बढ्न थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस भर्चुअल माध्यमबाट गर्न निर्देशन गरेको छ ।

योगको नियमित अभ्यास गर्नेमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने भएकाले कोरोनाबाट बच्नसमेत सहयोग पुग्ने विश्वास गरिएको छ ।

मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो । तत्कालीन शान्ति तथा पुनःनिर्माणमन्त्री नरहरि आचार्यको प्रस्तावमा मन्त्रिपरिषद्ले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको हो ।

यसअघि विसं २०३६ देखि उत्तरायण शुरु हुने दिन पारेर नेपालमा डा हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो ।