राजनीति

महाधिवेशन प्रतिनिधिको भावनालाई कदर गर्दै देउवालाई सघाएको हुँ : नेता सिंह


काठमाडौँ — नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औँ महाधिवेशनको पहिलो चरणको निर्वाचनको म्यान्डेटअनुसार शेरबहादुर देउवालाई सभापतिमा सघाएको दोहोर्‍याएका छन् ।

कांग्रेस भक्तपुर क्षेत्र नम्बर २ ले बिहीबार आयोजना गरेको झन्डोत्तोलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पहिलो चरणको निर्वाचनको म्यान्डेटअनुसार देउवालाई सभापतिमा सघाएको बताएका हुन् ।

नेता सिंहले केन्द्रीय नेतृत्व परिवर्तन र पार्टी विधिसंगत संस्थागत हुनुपर्ने एजेन्डा बोकेर महाधिवेशनमा मत मागेको स्मरण गर्दै मतदाताले आफूले अघि सारेका एजेन्डाअनुसार मत नदिएको धारणा राखे ।

पहिलो चरणको निर्वाचनमा आफूले परिवर्तन हुनुपर्छ भनिएको नेतृत्वले नै सबैभन्दा बढी मत पाएपछि मतदाताको म्यान्डेटअनुसार देउवालाई सहयोग गरेको उनको भनाइ थियो ।

‘दुईवटा एजेन्डा बोकेर म यसपटक उठेको हुँ । एउटा केन्द्रीय नेतृत्व परिवर्तन हुनुपर्छ र दोस्रो पार्टी विधिसंगत संस्थागत हुनुपर्‍यो । त्यो एजेन्डामा भोट मागेको हुँ,’ सिंहले भने, ‘फर्स्ट राउन्डको म्यान्डेटले मैले परिवर्तन गर्नुपर्छ भनेकै नेतृत्वको पक्षमा देखियो । डेमोक्रेटिक पार्टीमा डमोक्रेटिक एक्सरसाइजमा सहभागी भइसकेपछि म्यान्डेट त मान्नुपर्‍यो नि ।’

आफूले दोस्रो चरणमा सभापतिमा शेरबहादुर देउवालाई समर्थन गरेपछि ‘पार्टी स्वार्थ पूरा नभएकाहरूले नियोजित रूपमा आफूमाथि अनावश्यक प्रहार र चरित्र हत्याको प्रयास भइरहेको धारणा राखे ।