काठमाडौँ — प्रधानमन्त्री कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश विजयी भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको समूह ‘ए’ अन्तर्गतको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ४७ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको हो ।
यसअघि सुदूरपश्चिम नेपाल पुलिस क्लबसँग दुई रनले पराजित भएको थियो । सुदूरपश्चिमले दिएको १५४ रनको चुनौती पछ्याउने क्रममा कर्णाली १९ दशमलब १ ओभरमा सबै विकेट गुमाउँदै १०६ रनमा समेटियो ।
कर्णालीका कप्तान रवीन्द्र शाहीले सर्वाधिक ३५ रनको योगदान दिए । उनले ४३ बल खेल्दै चार चौका प्रहार गरे । अर्जुन घर्तीले २४ बलमा तीन चौका र एक छक्काको मद्दतमा ३० रन जोडे । बलिङतर्फ सुदूरपश्चिमका शेर मल्लले सर्वाधिक ४ विकेट लिए। हेमन्त धामीले दुई तथा आदित्य महता, गजेन्द्र बोहरा र विकास आग्रीले एक–एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५३ रन जोड्यो। सुदूरपश्चिमका लागि अर्जुन साउदले सर्वाधिक ३२ रनको योगदान गरे । उनले २३ बल खेल्दै चार चौका र एक छक्का प्रहार गरे । वसन्त कार्कीले २८, दीपक बोहराले २५ र खडग बोहराले २२ रनको योगदान दिए ।
बलिङतर्फ कर्णालीका प्रकाश जैसीले सर्वाधिक ३ विकेट लिए। रवीन्द्र शाही र दिवान पुनले दुई–दुई तथा दिनेश अधिकारीले एक विकेट लिए । तीन खेल खेलेको कर्णालीको यो दोस्रो हार हो । यसअघि कर्णाली त्रिभुवन आर्मी क्लबसँग ६३ रनले पराजित भएको थियो । कर्णालीले प्रदेश नं १ लाई भने ३१ रनले पराजित गरेको थियो ।
प्रतिक्रिया