राजनीति

निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक


काठमाडौँ — निर्वाचन आयोगले शुक्रबार विहान ११ बजे सर्वदलीय बैठक बोलाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन लगायतका विषयमा परामर्श गर्न सर्वदलीय बैठक बोलाएको जानकारी दिए ।

उनका अनुसार आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचन र हाल जारी रहेको मतदाता नामावली संकलनबारे जानकारी गराउने तथा स्थानीय तहको मिति तय गर्नेबारे बैठकमा छलफल  हुने भएको छ ।

‘मुख्य गरि निर्वाचनको वातावरण बनाउनका लागि हो,’ थपलियाले भने, ‘दलहरुले जे चाहान्छन् त्यसै अनुसार हामी मिति निर्धारण गर्छौं ।’

आयोगका पदाधिकारीले गत ९ पुसमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर १४ वैशाख र २२ वैशाखमा स्थानीय चुनाव गर्न प्रस्ताव गरेका थिए । तर, सरकारले त्यसबारे अहिलेसम्म कुनै निर्णय गरेको छैन् । यसअघि सरकारको तर्फबाट स्थानीय तहको निर्वाचनका बारेमा छलफल गर्न मंगलवार महान्यायाधिवक्ता खम्म खाती निर्वाचन आयोग गएका थिए ।

निर्वाचन सार्न सकिने सम्भावना र कानूनी तथा संवैधानिक प्राबधानका विषयमा सरकारले चासो राखेको बताइन्छ । यद्यपी आयोगले चुनाव वैशाखभित्र गर्नैपर्ने अडान लिएको स्रोतले जनाएको छ ।

सरकारले भने स्थानीय तहको तेस्रो चरणको चुनाव २०७४ असोजमा भएकाले असोजलाई ५ वर्ष मानेर चुनाव गर्न सकिने उपाय खोजेको छ । त्यसो गर्दा स्थानीय चुनाव एक वर्ष धकेलिन सक्छ । आयोगले र नेकपा एमालेले भने वैशाखलाई ५ वर्ष मान्नुपर्ने भनेका छन् ।