राजनीति

पार्टी सदस्य मनोनयनमा कुनै पक्षपात गरेको छैन : अध्यक्ष लिङ्देन


काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी सदस्यहरु मनोनयनमा कुनै पक्षपात नगरेको दाबी गरेका छन् ।

बुधबार पार्टी कार्यालयमा आयोजित नवनिर्वाचत मनोनित पार्टी सदस्यहरुलाई शपथ ग्रहण गराउँदै अध्यक्ष लिङ्देनले आफूमाथि मनोनयनमा पक्षपात गरेको आरोप लगाइरहे पनि त्यो सत्य नभइ निष्पक्ष ढंगले पार्टी सदस्यहरु मनोनित गरेको बताएका हुन् ।

उनले आगामी दिनमा पार्टीलाई सडक र निर्वाचन दुवै मोर्चामा सशक्त ढंगले प्रस्तुत गर्ने पनि बताए । अध्यक्ष लिङ्देनले पार्टीले राजसंस्था, हिन्दुराज्य पुनः स्थापनाको मुद्दासँगै भ्रष्टाचारविरुद्ध, जनजीविकासँग सम्बन्धित, रोजगारसँग सम्बन्धित अन्य मुद्दाहरु समेत लिएर अघि बढ्ने बताए ।

उनले पार्टीमा मनोनयन सदस्यहरुको परिपूर्ति अहिले नै भइनसकेकोले अबका दिनमा लैङ्गिक, समावेशी र समानुपातिकताका हिसाबले गरिनेसमेत बताए। उनले पार्टीमा महिलाको संख्यालाई संविधान बमोजिम पूर्ण गरेर जाने बताए ।

अध्यक्ष लिङदेनले भने, ‘हामीले राजसंस्था, हिन्दुराज्य पुनः स्थापनाको मुद्दासँगै भ्रष्टाचारविरुद्ध, जनजीविकासँग सम्बन्धित, रोजगारसँग सम्बन्धित अन्य मुद्दाहरु समेत लिएर आगामी दिनमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सडक र निर्वाचन दुवै मोर्चामा सशक्त ढंगले प्रश्तुत गर्नेछौँ र उभ्याउने छौँ । यो कार्यक्रममा मैले मनोनयन गर्ने कुरामा कुनै पनि पक्षको पक्षपात, विभेद गरेको छैन ।

हिजो मलाई आन्तरिक प्रतिष्पर्धामा सहयोग गरेकोरनगरेको कुरालाई आधार बनाएको छैन । आवश्यक र अनिवार्य व्यक्तित्वहरुलाई हामीले ल्याउने काम गरेका छौँ । करिब यसले पूर्णता प्राप्त गर्ने काम सुरु भएको छ । हामीले असन्तुष्ट पक्षलाई समेत समेटेर लैजान्छौँ । आगामी दिनमा राप्रपा सशक्त ढंगबाट अघि जान्छ ।

कुनै विवादमा अल्झिँदैन, अल्मलिँदैन, अहिले हामीले मनोनयन गरेको सन्दर्भमा केही भ्रमहरु पनि साथीहरुका बीचमा आएको छ कि समावेशी भएन, समानुपातिक भएन, विधानले निर्दिष्ट गरेका लैङ्गिक समावेशी, समानुपातिकताका कुराहरु उल्लंघन भयो भन्ने कुराहरु पनि कतै उठेको छ ।

यो सबैलाई हामीले पूर्ण गर्छौँ। त्यसको लागि ठाउँ हामीले राखेको छ । अहिले अनिवार्य केही कामहरु मात्रै हामीले गरेका छौँ । पछिल्लो दिनमा हामी सबै पूर्ण गरेर जान्छौँ । महिलाको संख्यालाई हामीले पूरा गरेनौँ वा समावेशी, समानुपातिक जुन संविधान बमोजिमकै व्यवस्था छ, त्यसलाई पूरा गरेनौँ भने निर्वाचन आयोगले नै यो सूचीलाई स्वीकार्दैन। त्यसकारण त्यसलाई उल्लंघन गरेर जाने छुट र सुविधा हामीलाई छैन ।’

अध्यक्ष लिङदेनले राजसंस्था र हिन्दुराज्य अहिले जनताको बीचमा लोकप्रिय मुद्दा बनेकोले अबका दिनमा यसलाई आफ्नो मुल मुद्दाको रुपमा लिइएको भएपनि जनताले पत्याउने ढंगको रणनीति नहुँदा विगतका कमजोरीलाई सच्याउँदै अघि बढ्ने बताए ।