काठमाडौँ — भारतमा कोरोना भाइरसबाट एकै दिनमा करिब दुई लाख नयाँ संक्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा एक लाख ९४ हजार ७२० जना नयाँ संक्रमित थपिएका हुन् ।
मन्त्रालयले भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या तीन करोड ६० लाख ७० हजार ५१० पुगेको जनाएको छ । भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरुको संख्या भने नौ लाख ५५ हजार ३१९ रहेको मन्त्रालयले जनाएको छ । दैनिक नयाँ संक्रमितहरुको बृद्धिदर ११ दशमलब ५ प्रतिशत रहेको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।
महामारीको प्रभाव सबैभन्दा बढी अहिले पनि महाराष्ट्र प्रदेशमा देखिएको छ । महाराष्ट्रमा मात्रै एक दिनमा थप ३४ हजार ४२४ नयाँ संक्रमित थपिएका छन् । दोस्रो धेरै दिल्ली प्रदेशमा २१ हजार २५९ र कर्नाटकमा १४ हजार ४७३ जना नयाँ संक्रमित थपिएको अधिकारीहरुले जनाएको छ । नयाँ संक्रमितमध्ये चार हजार ८६८ जना ओमिक्रोन भाइरसबाट संक्रमितहरु रहेको जनाइएको छ ।
अघिल्लो दिन सोमबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो २४ घण्टामा भारतमा एक लाख ७९ हजार ७२३ जना संक्रमित भएको उल्लेख गरिएको थियो । भारतमा सक्रिय संक्रमित र नयाँ संक्रमित दुवैको संख्या तीव्र रुपमा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरिएको छ । भारतमा मंगलबार आठ लाख २१ हजार ४४६ जना सक्रिय संक्रमित रहेका थिए ।
प्रतिक्रिया