राजनीति

पूर्व राजा र राष्ट्रपति एउटै कार्यक्रममा : पृथ्वी जयन्तीमा सार्वजनिक बिदा नदिएकोमा यस्तो चेतावनी (भिडियोसहित)


काठमाडौँ – पृथ्वीनारायण शाहको ३०० औँ जयन्तीको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले पहिलोपटक सिंहदरवारको पश्चिम मूलगेटमा रहेको शालिकमा माल्यापर्ण गरे । यता राष्ट्रपति विद्या भण्डारीले पनि पृथ्वीनारायणको शालिकमा माल्यापर्ण गरेपछि सरकारले सार्वजनिक विदा नदिएको भन्दै विरोध गरिरहेका राजावादीहरुलाई केही राहत मिलेको छ ।

जवजव पुस २७ नजिकिन्छ तव राजावादी र राजाविरोधीहरुबीच राजतन्त्र र पूर्व राजाहरुको भूमिकाबारे अन्तरविरोध सुरु हुन्छ । राजावादीहरु पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेको दाबी गर्दै गर्दा राजाविरोधीहरु भने पृथ्वीनारायणले नेपालको नभइ शाहबंशको मात्र विस्तार र रक्षा गरेको दाबी गर्छन् । तर पनि टुक्रा टुक्रामा विभाजित राज्यलाई एकीकरण गरेर एकताको सन्देश दिनुमा भने पृथ्वीनारायणको भूमिकाको प्रशंशा हुने नै गर्दछ । राजतन्त्र हुँदासम्म उनको भूमिकाको उच्च सम्मान गर्दै सो दिन सार्वजनिक विदा दिने पनि गरिन्यो ।

तर देशमा गणतन्त्र आएपछिको सरकारले पृथ्वीजयन्तीका अवसरमा दिँदै आएको सार्वजनिक विदा काटिदियो । सरकारको यो निर्णय पुर्नमूल्यांकन हुनुपर्ने माग पनि उत्तिकै उठ्ने गरेको छ । तर पृथ्वीनारायण शाहलाई नायक मान्दा राजतन्त्र फर्किने वा राजावादीहरु हौसिने डरले सरकार सार्वजनिक विदा दिने आँट नगरेको जानकारहरुको दाबी छ ।

त्यसो त पृथ्वीनारायणको भूमिकालाई संस्थागत गर्न तत्कालिन अवस्थामा शाहबंशहरु पनि चुकेको देखिन्छ । राजतन्त्र सक्रिय हुँदा पनि पृथ्वीजयन्तीलाई औपचारीक रुपमा मनाउनभन्दा माथि दरबारको तर्फबाट कुनै कार्यक्रम गर्ने चलन रहेन । उनका राम्रा कामहरुको तथ्य संरक्षण गर्ने काम नै भएन । फलत पछिल्लो समय पृथ्वीनारायणले गरेका कामबारे जनता विश्वस्थ हुन सकेका छैनन् ।

पृथ्वीनारायण शाहले चलाएको शाह वंशीय राजतन्त्रमा ज्ञानेन्द्र अन्तिम राजा हुन् । उनै ज्ञानेन्द्र राजतन्त्र अन्य भएको डेढ दशकपछि पहिलोपटक सिंहदरवारको पश्चिम मूलगेटमा रहेको पृथ्वीनारायणको शालिकमा पुग्ने कष्ट गरे । यसअघिका पृथ्वीजयन्तीमा ज्ञानेन्द्रले एउटा वित्रप्ति निकाल्नेबाहेक कुनै औपचारिक कार्यक्रम गर्ने प्रयास नै गरेनन् । जस्ले गर्दा पनि पृथ्वीनाराणका राम्रा कामहरु क्रमश ओझेलमा परेको कतिपयको बुझाइ छ ।

सरकारले पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक विदा नदिए पनि राष्ट्रपति विद्या भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेर श्रद्धा प्रकट गरेकी छिन् । यसअघि भण्डारीले २०७५ मा पनि सालिकमा माल्यार्पण गरेकी थिइन् । त्यसवखत गणतान्त्रीक देशकी राष्ट्रपतिले राजालाई माल्यापर्ण गरेको भन्दै उनको चर्को आलोचना पनि भएको थियो । तर यसपटक भण्डारीको माल्यापणलाई लिएर विरोधका स्वरहरु सुनिएको छैन । यसलाई कतिपय राजावादीहरुले भने राजसंस्थाप्रति सर्वसाधारण मात्र नभइ राजनीतिक दलका नेता कार्यकर्ताहरु पनि सकारात्मक हुँदै गएको अर्थमा बुझेका छन् ।