राजनीति

विप्लव र प्रचण्डसँग एकता सम्भव छैन : मोहन वैद्य


काठमाडौँ — नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले नेकपा माओवादी केन्द्रसहितका पूर्व माओवादी घटकसँग एकताको सम्भावना नरहेको बताएका छन् ।

मंगलबार क्रान्तिकारी पत्रकार महासंघले काठमाडौंमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव वैद्यले नेकपा (माओवादी केन्द्र) लगायतका पूर्व माओवादी घटकबीच एकताको सम्भावना नरहेको बताएका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता हुने भनिरहे पनि त्यस्तो कुनै सम्भावना नरहेको वैद्यले स्पष्ट पारे । आफूहरुले वर्तमान राज्यसत्ता तथा संसदीय व्यवस्थालाई स्वीकार गर्न नसक्ने र माओवादी केन्द्र संसदीय व्यवस्थाको संरक्षकको रुपमा अघि बढेकाले एकताको सम्भावना नरहेको उनको तर्क थियो ।

‘उहाँहरुले पूर्व माओवादीहरुसँग पार्टी एकता हुनसक्छ भनेर लगातार भन्नुभएको छ । तर हाम्रो पार्टी सँग सम्भव छैन । नेकपा (क्रान्तिकारी माओवादी) सँग सम्भव छैनु, उनले भने, ‘हामीले पुरानो राज्यसत्ता, संसदीय व्यवस्था स्वीकार्न सक्दैनौँ भनिराखेका छौँ । प्रचण्डजीको पुरै जोड यो संविधानको असली संरक्षक हामी हौँ भन्ने छ । संसदीय व्यवस्थाको असली संरक्षक हौँ भनिरहनु भएको छ । त्यसकारणले उहाँहरुसँग एकता सम्भावना छैन ।’

उनले मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग पनि एकताको सम्भावना नदेखिएको बताए । ती पार्टीहरुसँग पनि राजनीतिक लाइन नमिलेको उनले बताए । कार्यक्रममा बोल्दै महासचिव वैद्यले एमसीसी परियोजना राष्ट्रघाती भएकाले खारेज हुनुपर्ने बताए ।