राजनीति

समृद्ध नेपाल, सुखी नेपालीको संकल्प पूरा गर्न पृथ्वी जयन्तीले प्रेरणा प्रदान गर्ने विश्वास छ : राष्ट्रपति


काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले ‘समृद्ध नेपाल सुखी नेपाली’ को साझा राष्ट्रिय संकल्प पूरा गर्न पृथ्वी जयन्तीले प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् ।

पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज शुभकामना जारी गर्दै राष्ट्रपतिले भनेकी छन्, ‘यस युगीन दायित्वलाई कार्यरूपमा उतार्दै मुलुकको राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमसत्तालाई अक्षुण्ण राखी समृद्ध नेपाल सुखी नेपालीको साझा राष्ट्रिय संकल्प पूरा गर्न आजका दिनले प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु ।’

महत्वपूर्ण राजनीतिक परिवर्तनपछि आर्थिक समृद्धि हासिल गर्नुपर्ने वर्तमान चरणमा नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहका दूरदर्शी विचारलाई आत्मसात् गर्दै अघि बढ्न सके मुलुकको सामाजिक–आर्थिक रूपान्तरणमा योगदान पुग्न जाने राष्ट्रपतिले सन्देशमा उल्लेख गरेकी छन् ।