राजनीति

सरकारी सम्पत्तिमा आसेपासे र बिचौलियाको रजगज : पात्र फेरिए, प्रवृत्ति उस्तै (भिडियोसहित)


काठमाडौँ – यतिवेला बतास समुहले राज्यको सम्पत्ती कौडीको भाउमा लिएर भोगचलन गरिरहेको विषयले देश तातिएको छ । राजाको सम्पतीमा नवराजाको दोहन चलिरहेको छ । जसले गर्दा पात्र फेरिए पनि प्रवृद्धि नफेरिएको भन्दै सरकार र राजनीतिक दलप्रति नागरिक थप रुष्ठ बनेका छन् ?

बतास समुहले यसअघि नै राज्यको सम्पतिमाथि दोहन गर्दै आएको थियो । जसलाई चाल पाएर पनि सरकारी पक्ष नदेखे झै गरिरहेको थियो । जब बतास नारायणहिटी जस्तो ऐतिहासिक दरबार नै पस्यो, तव सबैको आँखा खुल्यो । यस विषयमा अघि नै पनि खबरहरु नबाहिरएका पनि हैनन् । यहि समुहले पशुपतिनाथ दर्शन गर्न आउने तीर्थयात्रीहरुलाई खान र बस्न सहज होस् भनेर पाशुपत क्षेत्रमा बनेको धर्मशालामा होटेल चलाउन थालेको पनि लामै समय भईसकेको छ । पशूपति क्षेत्र विकास कोषको मिलेमतोमा १९ रोपनी जग्गामा फैलिएको ३४ करोड लागतको ८८ कोठे धर्मशालामा अहिले ‘होटल आनन्द’चलिरहेको छ । यहाँ बस्न एकरातकै करिब सात हजार तिर्नुपर्छ ।

पाटन दरबार क्षेत्रको मंगलबजारपट्टिको कोत पाटी मल्लकालीन राजा श्रीनिवासले बनाएका हुन् । पाटीमा रहेको ३३ वटा कवलमध्ये १८ वटा कवल बतास समूह अन्तर्गतको बी म्यानेजमेन्टले ठेक्का लिएको छ । २०४० सम्म सर्वसाधारणको खुला पहुँचमा नभएको कोत पाटीमा ७३ पछि बतासले पहुँच जमाएको छ । अर्थात यस्ता सरकारी सम्पत्तीमा कब्जा जमाएको दशक वढि भईसकेपनि सरोकारवाला निकाय तै चुप मै चुपको अवस्थामा छन । बतासको पहुँच काठमाडौं भित्रमात्रै होइन । पोखरास्थित गण्डकी संग्राहलयको जग्गा र भवनमा राईँदाईँ गरिरहेको छ । १० बर्षका लागि २०६७ माघ ३ गते भाडामा लिएको बतासले ११ बर्षवितिसक्दा कब्जा छोडेको छैन । पोखरामा सेती नदी थुनेर रामघाटबाट ढुंगा, गिटी र बालुवा निकाल्ने सहमति त यसअघि नै भएको थियो ।

यसअघि नै देशमा यती र ओम्नीआतंक थियो । चन्द्रागिरीमा उस्तै खाले आतंक छ । खोलानाला देखि पाथिभराकै जमिन पनि कुनै अमुक व्यक्तिको नाफाका लागि कौडीको भाउमा बेचिएका छन । खोला किनार देखि गुठिका जग्गामा समेत यस्तो चलखेल भएको छ । सेटिङ मिलाउने अनि थोरै रकममा राज्यको सम्पत्ती दोहन गर्न दिने अनि त्यहि सेटिङवापत मोटो रकम असुल्ने उच्च पदमा रहेको कर्मचारी तथा नेता र मन्त्रीहरुको धन्दा नै भईरहेको छ ।

वितेका तीन दशक अघि सत्तामा जो थिए आज पनि तिनै छन् । हिजो तिनले लुकेर गर्ने काम आज हाकाहाकी गर्छन् । हिजो कानुनको छिद्र खोजेर भ्रष्टाचार गर्नेहरू आज कानुन नै बदलेर गर्छन् । हामीचाहिँ कुन व्यवस्था ठीक हो भन्ने बहसमैं एकआपसमा लडेर बस्छौं । देशको अवस्था सुधार्न नागरिक पनि सचेत हुनुपर्ने देखिन्छ ।